
पोखरा स्पोर्टस । पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’को तयारी सुरू भएको छ ।
पोखरामा शनिबार प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले तयारी सुरू गरिएको जानकारी दिएको हो । प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यहि चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिएका हुन् ।
प्रतियोगिताको तयारका बारेमा जानकारी दिंदै अध्यक्ष आचार्यले हाल सम्म २९ भन्दा बढि टिमले पत्र पठाए पनि अन्तिम चरणमा १६ टिमको मात्रै सहभागिता हुने बताए । उनले भने–“हामी सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गरेर १६ टिम मात्र सहभागिता गराउने गरी अघि बढेका छौं ।”
पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका उनले यूवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए । उनले भने–“अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।”
लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।
सोही पत्रकार सम्मेलनमा शुक्रबार राजधानी भएको घटनामा निधन भएका पत्रकार सुरेश रजक प्रति एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा एकेडेमीका उपाधयक्ष राजेश गुरूङ, सचिब कृष्ण तिमिल्सनाले समेत आफ्ना भनाई राख्दै प्रतियोगिता सफल बनाउन आग्रह गरे ।
