प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी

चैत्र ५ गते सम्म छुट भएका खेलाडी दर्ता गर्न पाइने

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ ।

परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।

परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको बताउँदै सदस्य सचिब शर्माले पालिका खेलकुद विकास समितिको समन्वयमा चैत्र १५ गते देखि २० गते भित्र पालिका छनौट गर्ने तथा चैत्र २५ गते भित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी सबै जिल्ला खेलकुद विकास समिति र खेल संघहरुलाई पत्रचार गरिएको बताए ।

त्यसै गरी प्रदेशस्तरीय छनौट प्रतियोगिता चैत्र २६ गते देखि २०८२ बैशाख ५ गते सम्म सम्पन्न गर्ने गरी राष्ट्रिय प्रतियोगिताका लागि प्राप्त खेलाडी कोटा बमोजिम अन्तिम छनौट गर्ने जनाएको छ ।

परिषदले नवा राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त उपलब्धिको जर्गेना गर्दै तीन छुट्टा–छुट्टै रुपमा खेलहरु वर्गिकरण गरी सोही अनुसार बन्द प्रशिक्षण समेत गर्ने गरी तयारी भएको सदस्य सचिब शर्माले जानकारी दिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेशस्तरीय छनौट सबै जिल्लामा हुने गरी तय भएको समेत परिषदले जनाएको छ ।

दशौं राष्ट्रिय खेलकुदका लागि हाल सम्म गण्डकी प्रदेशका ११ जिल्लामा ३ हजार ३७६ जना खेलाडी दर्ता भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् । जसमध्ये कास्कीमा सर्वधिक १ हजार ५८ जना, नवलपुरमा ५ सय ६१, तनहुँ २ सय ६, गोर्खा १ सय ४२, पर्वत २ सय ५९, मनाङ ३ सय ३, मुस्ताङ ६३, बाग्लुङ ३ सय ७, स्याङजा २ सय ४४, लमजुङ ७२, म्याग्दी १ सय ६१ जना खेलाडी दर्ता भएका छन् ।

सदस्य सचिब शर्माले छनौट खेललाई प्रभावकारी बनाउन खेल संघहरुलाई आग्रह गर्दै छनौट प्रक्रियामा खेलाडीहरुलाई समान रुपले अवसर दिन र उनीहरुलाई उत्साहित बनाउँदै प्रदेशका लागि पदक प्राप्त गर्ने गरी अघि बढाउनु पर्नेमा जोड दिए ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले सबैले एक जुट भएर खेलाडीहरुलाई उत्साहित बनाउँदै दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । कुनै समस्या भएमा परिषद समाधान गर्न तयार रहेको जनाउँदै पालिका तह देखि प्रदेश तह सम्मको छनौटले प्रदेशले उत्कृष्ट खेलाडी पाउनेमा विश्वस्त रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close