
पोखरा स्पोर्टस । नेत्रहिन क्रिकेट संघ कास्कीद्वारा आयोजित अन्तर जिल्ला नेत्रहिन टि२० पुरूष क्रिकेटमा कास्की बिजयी भएको छ ।
पोखरा क्रिकेट रंगशालामा आयोजित प्रतियोगितामा म्याग्दी विरूद्ध कास्की १०८ रनले बिजयी भएको हो । यस अघि टस हारेर पारीको सुरूवात गरेको कास्कीले पुरै २० ओभर खेल्दै यूवराज भण्डारीको अर्धशतकिय पारीमा ५ बिकेटको क्षतीमा २१७ बनायो । प्रतियोगिताका म्यान अफ दि म्याच समेत बनेका यूवराजले ४८ बलमा ६३ रनको योगदान दिए ।
यता म्याग्दी २१८ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रनमा समेटियो ।
नेपाल नेत्रहिन संघको सहयोगमा आयोजित उक्त प्रतियोगितामा बि१ तर्फ कास्कीका प्रेम बहादुर क्षेत्री, बि२ तर्फ कास्कीकै टुल्क डाँगी र बि३ तर्फ म्याग्दीका लोकेश बिक उत्कृष्ट खेलाडी बन्न सफल रहे ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद एव नेकपा एमालेका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले उद्घाटन गर्दै खेलकुद स्वास्थ्य, जिवन र राष्ट्रका लागि भए पनि खेलकुद जिवनवृतीको माध्यम बन्न सक्ने बताए । उनले भने–“सकिन्छ हामीले खेलकुदलाई जिवन अघि बढाउन माध्यम बनाउँ । यदि त्यो पनि हुँदैन भने हामी स्वास्थ्यका लागि खेलौं ।”
समाज यति अनुशासनको मार्गबाट बाहिर गइरहेको बताउँदै नेपालीले खेलकुदले अनुशासन र सम्मानलाई सिक्ने अवसर समेत प्रदान गर्ने बताए । “नेपाली संस्कृति त्यस्तो होइन । पछिल्लो समय ‘नेगेटिभिजम’ बढेको छ । तर खेलकुद क्षेत्रमा त्यस्तो छैन । खेलकुदमा अनुशासनको सन्तुलन रहेको छ । नेपाली समाजले खेलकुदबाट सिक्नु पर्छ । अझै राजनिती गर्नेले अझै धेरै सिक्नुपर्छ ।”
सो अवसरमा नेपाल नेत्रहिन संघका केन्द्रिय अध्यक्ष शिषिर खनालले कास्कीमा कठिन घडीमा सुरूवात भएको नेत्रहिन क्रिकेटले यति बेला धेरै खेलाडीहरू उत्पादन गर्न सक्षम रहेको बताए । उनले सामुहिक एकता, मित्रता र सम्मानका लागि प्रतियोगिता महत्वपूर्ण हुने जनाए ।
कार्यक्रममा नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रिय महासचिव अमृत बरालले यो प्रतियोगितामा हार र जित भन्दा पनि यो सिक्ने अवसर समेत रहेको उल्लेख गरे ।
बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम नेत्रहिन क्रिकेट संघ कास्कीका अध्यक्ष प्रमोद दाहालको अध्यक्षतामा भएको थियो ।
