
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)को निर्वाचन सम्वन्धि छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित कार्यदलले ७ खेल संघका पदाधिकारीहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

कार्यदलको बिहिबार बसेको कार्यदलले सो निर्णय गरेको राखेप कार्यकारी सदस्य एवं कार्यदलकी संयोजक सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । कार्यदलले नेपाल र्याफटिङ एण्ड क्यानोइङ संघ, नेपाल गल्फ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ र नेपाल कराते महासंघ रहेको छ ।
पोखरा स्पोर्टस संग कुरा गर्दै संयोजक श्रेष्ठले एनओसीको निर्वाचनमा सहभागि रहेका खेल संघहरुलाई ति संस्थाको निर्णयको पुस्तिकासहित छलफलका लागि बोलाउने निर्णय गरेको बताइन । उनले भनिन–“यस अघि नै राखेपले स्पष्टिकरण सोध्ने कार्य गरिसकेको छ । उहाँहरुको जवाफ पनि आएको छ । तर यो बारे राखेप अझै स्पष्टता चाहन्छ । एनओसी निर्वाचनमा संघको निर्णय थियो वा थिएन त्यो पनि हामी स्पष्टता चाहन्छौं ।”
राखेपले एनओसीको निर्वाचनमा सहभागि रहेको भन्दै केही खेल संघहरुलाई खारेज गरी कार्वाही प्रक्रिया अघि बढाएको छ भने ७ खेल संघहरुलाई थप छलफलका लागि बोलाएको छ ।
राखेपको २०८१ फागुन १३ गते बसेको कार्यकारी समितिको ३४औं बैठकले खेलकुद विकास ऐनको दफा ४२ को उपदफा (१) अनुसार कार्यकारी सदस्य श्रेष्ठको संयोजकत्वमा तीन सदस्यिय छानबिन कार्यदल गठन गरेको थियो । जसको सदस्यमा सरोज पोख्रेल र सानुराजा केसी रहेका छन् ।
छानबिन कार्यदलको बैठकले राखेपलाई आभार व्यक्त गर्दै संघहरुको पत्र प्राप्त हुनासाथ आगामी बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
यद्यपी राखेपले नेपाली खेल संघहरुलाई निर्वाचनकै विषयलाई लिएर कार्वाही प्रक्रिया अघि बढाए पनि एनओसीमा निर्वाचित अध्यक्ष जिवनराम श्रेष्ठ भने अन्तर्राष्ट्रिय विभिन्न बैठकहरुमा एनओसीको प्रतिनिधित्व गरिरहेका छन् भने हालै पाकिस्तानमा सम्पन्न १४ औं दक्षिण एसियाली खेलकुद सागको काउन्सिल बैठकमा समेत उनले सहभागिता जनाएका थिए ।
यता राखेपको यहि माघ २२ र २३ गते कार्यकारी समितिको बैठकले कार्वाही प्रक्रिया सुरूवात गरेको थियो। नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागि हुने एक दर्जन बढि खेल संघहरु र केही व्यक्तिहरुलाई समेत तोकेर नै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कारवाही गर्ने राखेपले जनाएको समेत थियो ।
त्यसै गरी नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का देखि लिएर बैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनाधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने सम्मका कदमहरु राखेपले अघि बढाएको थियो ।
एनओसीको गत पुष १३ गते सम्पन्न निर्वाचनमा तेस्रो कार्यकालका लागि अध्यक्ष जिवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए । तर केही खेल संघहरुले निर्वाचन प्रक्रियालाई लिएर दायर गरेको मुद्धा उच्च अदालत पाटनमा विचाराधिन अवस्थामा छ ।
