
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् ।
अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा कार्यशाला गोष्ठिमा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताए ।
‘गण्डकी प्रदेशलाई हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा अवस्थित छन् । मनोरम माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरु यहाँ ल्याउन सकिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।
गण्डकी प्रदेश सरकार, संघ सरकार र स्थानीय तहहरुले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाएको बताउँदै उनले राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमान्थाङमा विश्वकै हाइअल्टिच्यूड गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको बताए ।
पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
‘आवश्यक पूर्वाधारहरुको विकास गर्दै खेलकुद मार्फत पर्यटक आकर्षित गरेर राष्ट्रिय आम्दानी बढाउन सकिनेछ ।’ उनले भने– ‘यसै आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी खेलकुद परिषद्को स्वीकृतिमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना भएकोमा खुशी लागेको छ ।
साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत् पर्यटन प्रवद्र्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउन विशेष खेलसंघको रुपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उनले प्रगतिको कामना पनि गरे ।
फेडेरेशनले अल्पाइन तथा पर्वतीय, साहसिक खेलहरु आयोजना, यससँग सम्बन्धित सीपमुलक तालिम सञ्चालन, ट्रेकिङ गाइड, वाल क्लाइम्बिङ साथै हिउँसँग सम्बन्धित सीपमूलक र प्रवद्र्धनात्मक कार्यहरु, उद्धार सेन्टर, अल्टिच्युड सम्बन्धी तालिम तथा भौतिक पूर्वाधार निर्माण एवं समन्वय लगायतका योजनाहरु राखेकोमा उद्देश्यप्राप्तिको लागि शुभकामना दिए ।
कार्यक्रममा अल्पाइन स्पोर्टस फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष गोविन्द भट्टराइले गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तब्य बनाउन कुनै ठूलो धनराशी खर्चीनु नपरे पनि यहाँको पर्यटन क्षेत्रले त्यसको पहिचान गर्न नसक्दा त्यसबाट प्राप्त हुने महत्वपूर्ण स्रोत गुमाउन पुगेको बताए । ‘पर्वतिय खेलकुद र पर्यटन बीच अन्तर सम्वन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले भने–“नेपाली खेलकुदलाई नयाँ ढङ्गले ड्राइभ गर्न सके ठूलो सम्भावना छ । नेपालको भविष्य पर्यटन संग गाँसिएको छ । जसमा पर्यटन क्षेत्रले खेलकुदलाई अङ्गिकार गर्न आवश्यक छ ।” साहसिक खेलकुदबाट नै दिगो पर्यटनको कल्पना गर्न सकिने जनाउँदै अध्यक्ष भट्टराईले अवको दिगो पर्यटन नेपाली महिलाहरुको सशक्तिकरणका लागि समेत उत्तिकै महत्वपूर्ण हुने जनाए ।
अल्पाइन स्पोर्टस फेडेरेशन गण्डकी प्रदेशका अध्यक्ष सर्मिला गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङलगायतले आफ्ना भनाई राखेका थिए ।
