दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट नघटने

पोखरा स्पोर्टस । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विनियोजित बजेट नघटने भएको छ । सरकारले खर्च कटौती गर्ने भन्दै केही दिन अघि परिपत्र गरे पछि राष्ट्रिय खेलकुद प्रतियोगिताको समेत बजेट घट्ने र आयोजना नै धरापमा पर्ने चिन्ता व्यक्त गरिएको थियो ।

सो बारे कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदकी कार्य समिति सदस्य सूवर्ण श्रेष्ठले बजेट घट्ने हल्ला हल्ला मात्रै भएको बताइन् । उनले भनिन्–“दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ६० करोड विनियोजन भएको छ । त्यसमा कुनै कटौती हुँदैन ।”

बजेट घट्ने हल्लामा कुनै सत्यता नरहेको जनाउँदै कार्यसमिति सदस्य श्रेष्ठले अर्थ मन्त्रालयले स्पष्ट रुपमा नै राष्ट्रिय प्रतियोगिताका लागि ६० करोड दिने प्रतिवद्धता जाहेर गरेको बताइन् । “अर्थ मन्त्री ज्यू नै यस बारे स्पष्ट बोल्नु भएको छ । राष्ट्रिय प्रतियोगिताको विनियोजित बजेट घटाउनेमा मनस्थितीमा मन्त्रालय छैन । किन भने यो खेलाडीको भविष्य संग जोडिएको विषय हो ।”

मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बनाइएको कार्यविधि बमोजिम नै खर्च गर्ने सहमति जनाएको श्रेष्ठले बताइन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका आगामी जेठ ३ देखि १० गते सम्म हुने राखेपको १२१ औं बोर्ड बैठकले तय गरेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सञ्चालनका लागि यूवा तथा खेलकुद मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई पत्रचार नगरेको विषय हिजो शुक्रबार सम्पन्न १२१ औं बोर्ड बैठकमा उठेको थियो । कर्णाली प्रदेश सरकारले आयोजनाका लागि आधिकारीक पत्रचार नहुँदा अन्यौलमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close