
पोखरा स्पोर्टस । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदिपुरको प्राविधिक संयोजनमा पहिलो पटक पार्क भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
पोखरा –३, नदिपुर स्थित छन्त्याल समाजको भलिबल खेल मैदानमा यही फागुन २० गते देखि २३ गते सम्म उक्त प्रतियोगिता हुने भएको हो । भलिबलमा दक्ष खेलाडी उत्पादनमा जोड दिनुका साथै पार्क भलिबलको सुमुचित विकास एवं प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ‘
‘खेलाडी मान मात्र हैन सम्मान हो, भलिबल सान मात्र हैन पहिचान हो’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी कलाकारहरु, पोखराका चर्चित, सांस्कृतिक एवम् नृत्य केन्द्रका कलाकारहरुको प्रस्तुती रहनेछ ।
चार जना खेलाडी विरुद्ध चार जना खेलाडी बीच खेलाइने उक्त पार्क भलिबल प्रतियोगितामा पुरुष टिम मात्रै समाबेश गरिएको छ । निकट भविष्यमा महिला टिमलाई पनि समावेश गरिने आयोजक समितिका उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख मनोज खड्का ‘धम्पुसे कान्छा’ले जनकारी दिएका छन् । खड्काका अनुसार प्रतियोगितामा नेपालका चर्चित राष्ट्रिय भलिबल खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमलाई क्रमशः ६० र ३५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, विद्यागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, डिफेन्डर, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकलाई ट्रफि प्रदान गरिने र दर्ता शुल्क ४ हजार रहेको जानकारी दिदै अन्तिम टिमदर्ता फागुन १९ गते सम्म रहेको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित ७ औं, ८ औं र ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका खेलाडी मध्य एक टिममा एक जना मात्र समावेश गर्न पाइने नियम आयोजकले बनाएको छ । चार दिन सम्म सत्तचालन हुने प्रतियोगितामा भलिबल खेलक्षेत्रका अग्रणी व्यक्तिहरुलाई सम्मान कार्यक्रम, सहयोगी व्यक्ति एवम् संघ संस्थाहरुलाई सम्मानपत्र प्रदान, मायाको चिनो वितरण र पुरस्कार वितरण कार्यक्रम रहने आयोजक समितिका अध्यक्ष एवम् नेपाल भलिबल संघका केन्द्रीय सदस्य अन्चल शाही ठकुरीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि स्थानिय तह, प्रदेश खेलकुद परिषद गण्डकी, खेल संघ एवं विभिन्न संस्थाहरुको विशेष सहयोग रहने आयोजक समितिका महासचिव पूर्ण बहादुर गुरुङले जानकारी दिएका छन् ।
