कास्कीको मादी मेलामा गोरू जुधाइसहित विभिन्न प्रतियोगिता हुने

पोखरा स्पोर्टस । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मेलामा परम्परागत गोरू जुधाइसहित विभिन्न प्रतियोगिता हुने भएको छ ।

मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङले जानकारी दिएका हुन् ।

‘मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आ–आफ्नो जिम्वेवारी पुरा गरिसकेका छन्’ संयोजक गुरुङले भने, ‘सवैको सहयोगको कारण मेला सभ्य र भभ्य रुपमा सम्पन्न हुने हामीले अपेक्षा गरेका छौ ।’

तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने मेलामा कृषि कार्यक्रमहरुतर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट, खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै खेलकुद प्रतियोगिताहरुतर्फ खुल्ला फाइभ ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा महिला डोरीतान रहेका छन् ।

गत बर्ष राखिएको गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको हुँदा यस बर्ष सो प्रतियोगिता विशेष रुपमा गरिने सोंथर बेँसी विकास समितिका सचिव डील्लीराज गिरीले बताए ।

गत बर्ष गोरु जुधाइँ प्रतियोगितामा २० गोरु सहभागि रहेकोमा स्थानीय पदम बहादुर बिकको गोरु प्रथम र प्रदिप गिरिको गोरु द्धितीय भएको गिरीले जानकारी दिए ।

मेला सञ्चालन गर्न करिव ५ लाख खर्च लाग्ने समितिका कोषाध्यक्ष रमा क्षेत्रीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close