
पोखरा स्पोर्टस । यहि फागुन ३ गते आयोजना हुने १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको उपस्थितीमा सम्पन्न छलफलमा सुरक्षा व्यवस्था चुस्त बनाइने निर्णय भएको हो ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा स्वदेशी र विदेशी धावकहरुको सहभागिता बढे संगै प्रशासन कार्यालयले उनीहरूको सुरक्षा संगै मर्यादित र भव्यरुपमा म्याराथन सम्पन्न गर्ने गरी चासो दिएको सुरक्षा उपसमितिका संयोजक महेश पौडेलले बताए ।
फागुन ३ गते सञ्चालन हुने प्रतियोगिताको तयारी संगै सुरक्षा व्यवस्था र रुटमा अवागमन हुने सवारी साधनहरुको प्रवाह कम गर्दै धावकहरुको दौडलाई सहज वातावरण बनाउन मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले आग्रह गरे । उनले सो बैठकमा गरिएको छलफलमा १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी र रुटका बारेमा जानकारी गराएका थिए ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, नेपाली सेनाका प्रमुख सेनानी गणपति राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक श्याम बाबु ओलिया, शसस्त्र प्रहरीका उपरिक्षक अरुण कुमार शर्मा, अनुशन्धान निर्देशकलगायत जिल्लाका शुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।
सो बैठक मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा बसेको थियो ।
फागुन ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भइ पोखरा महानगर भित्रका विभिन्न १७ वडाहरुको रुटमा हुँदै पोखरा महानगर वडा नं ६ स्थित हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।
म्याराथनमा दर्ता भएका धावकहरुसहित करिव १२ हजार पोखरेलीहरु पोखरा म्याराथनलाई महोत्सवको रुपमा मनाउने गरी पोखरा रंगशालाबाट सग–संगै दौडने निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताए ।
