
पोखरा स्पोर्टस । टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत भोली (शनिबार) हुने उद्घाटन खेलमा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
माघ १२ गते देखि १९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुपले पहिलो पटक आफ्नै महिला टिम घोषणा गर्दै सहभागिता जनाएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने आयोजक टोलीमा तीन जना थाइ खेलाडी समेत छन् ।

टिममा थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात छन् । अम्फा मिडल ब्लकर हुन् भने जान्तिमा र नान्तिकान आउट साइड हिटर हुन् । तिनै जना खेलाडी थाइल्यान्डमा जारी लिग खेलेका टोलीका खेलाडी समेत हुन् ।
आयोजक टोलीमा महिला राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू–२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसै गरी गण्डकीको टोलीमा काजल छन्त्याल, रेविना घर्ती मगर, सोइङ्ग थापा र पुजा सेन रहेका छन् । टिमको प्रशिक्षकमा अर्जुन घिमिरे, सहायक प्रशिक्षकमा जिवन भण्डारी र व्यवस्थापकमा शंकर गुरुङ रहेका छन् ।
यस्तै नेपाल आर्मीबाट भावना डाङ्गी, पशुपती बोहोरा, सुनिता राई, बसन्ती साउद, स्नेहा ठगुन्ना, शर्मिला दमाई, पार्वती क्षेत्री हिरा जैशी, सफिया पुन मगर, संगम महतो, पुष्पा पलपरिया र चन्द्रा बस्नेत रहेका छन् । आर्मीको मुख्य प्रशिक्षकमा भरत भण्डारी रहेका छन् भने सहायक प्रशिक्षकमा सरोज बोहोरा र टिम व्यवस्थापकमा सरस्वती खतिवडा रहेका छन् ।
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ ।
सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।
भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन भोली नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । भोली बिहान १० बजेबाट सुरू हुने प्रतियोगितामा भोली उद्घाटन सहित ३ खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

