पाँचौ टाइगर कप भलिबल : तयारी अन्तिम चरणमा, सहयोगीहरू थपिदै

पोखरा स्पोर्टस । ‘पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ को तयारी अन्तिम चरणमा पुगे सगैं सहयोगीहरू समेत एक पछि अर्को गर्दै अघि आएका छन् ।

गण्डकी प्रदेशकै प्रतिष्ठित भलिबल प्रतियोगिता मध्येको उक्त प्रतियोगिता सम्पन्न करिब १ करोड २५ लाख रुपैयाँको खर्च हुने आयोजक टाइगर ग्रुपले जनाएको छ । माघ १२ गतेदेखि पोखरा रंगशालामा सुरू हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टिम बीच प्रतिस्पर्धा हुने छ ।

लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब टिमसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी नेपाली टिममा हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लबको सहभागिता रहेको छ ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डको टिमसहित नेपालका शीर्ष टिमहरु सहभागी हुनेछन्। सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।

प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन्  ।  प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीयलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार ७ सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिनेछ ।

साथै बिधागत तर्फ विजेता खेलाडीलाई एक्सटेप फेशनको तर्फबाट आकर्षक जुत्ता उपहार पाउने छन् भने प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल पाउनेछन् । यस वर्ष प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने दर्शकलाई समेत एक थान टिशर्टको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।  गत वर्ष चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए। यस वर्षको प्रतियोगिताले थप रोमाञ्चक खेल र नयाँ च्याम्पियनको खोजी गर्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए ।

प्रतियोगिताकालागि आयोजकले करिब २ हजार दर्शक अट्ने प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने दर्शकले अनलाइनबाट पनि टिकट किन्न सक्नेछन् । अनलाइन टिकेटिङमा इ–सेवाले सघाउनेछ । आयोजकले आजै इ–सेवासँग औपचारिक सम्झौतासमेत गरेको छ ।

त्यस्तै, एक्सन स्पोर्टसले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नै टाइगर ग्रूपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । यसपटक प्रतियोगिता आयोजना खर्च र पुरस्कार राशी दुबै वृद्धि गरिएको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close