
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल ओलम्पिक कमिटिले गरेको विधान संसोधन र निर्वाचन प्रक्रिया नमान्ने भएको छ ।
राखेपको आज बिहिबार काठमाडौमा सम्पन्न ११९ औं बोर्डको बैठकले ओलम्पिकको ति दुबै प्रक्रिया नमान्ने निर्णय गर्दै नेपाल सरकारबाट हुने सम्पूर्ण सहयोग रोक्ने निर्णय समेत गरेको हो । राखेपको निर्देशन पालना विरुद्ध नेपाल ओलम्पिक कमिटिले गरेका निर्णय अमान्य भए संगै ति दुबै प्रक्रिया अवैध ठहर भएका छन् ।
राखेपका अध्यक्ष एवं यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल ओलम्पिक कमिटिले राखेप र अदालतको निर्णय समेत नमानेको र एकलौटी रुपमा गरेका निर्णय कानुन सम्मत समेत नभएको र अवैध ठहर भएकोले नेपाल ओलम्पिकका लागि हुने सम्पूर्ण सहयोग रोक्ने निर्णय हो । सो सम्वन्धि निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेतलाई लेखि पठाउने निर्णय गरेको बैठकमा सहभागि प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका छन् ।
नेपाल ओलम्पिकको निर्वाचनमा संस्थागत रुपमा गएका खेलसंघहरुलाई किन खारेज नगर्ने भन्दै स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ । साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने गरी निर्णय संगै खेल संघको निर्णय नभइ सोझै उम्मेदवारी वा मतदान गरेकाहरुलाई भ्रस्टाचार निवारण ऐन अनुसार सम्वन्धित निकायमा लेखि पठाउने निर्णय समेत गरेको छ । तर नेपाल ओलम्पिकमा आफूले प्राप्त गरेको पद तीन दिन भित्र छोडेर आएको हकमा भने सफाइको मौका समेत दिइने भएको बैठकको निर्णय रहेको सदस्य सचिब शर्माले बताए ।
त्यसै गरी प्रदेशमा चार वटा खेल संघहरु गठन नभई दर्ता भएका खेलसंघहरुलाई यथासिघ्र प्रदेशस्तरमा खेल संघ गठन गर्न आह्वान गर्ने अन्यथा ति खेल संघहरुको दर्ता खारेज गरी राखेपबाट प्राप्त हुने सहयोग समेत रोक्ने निर्णय गरेको छ ।
सम्पन्न बैठकले खेल संघको सूची एवं वर्गिकरण, खेलकुद पूर्वाधार परिचालन सम्वन्धमा राखेपका नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यको संयोजकत्वमा ७ सदस्यिय कार्यदल गठन गर्ने निर्णय गर्दै सो कार्यदलमा प्रदेशबाट एक जना प्रतिनिधि समावेश गर्ने निर्णय समेत भएको छ ।
खेलकुदमा कार्यरत २३ जना कर्मचारीहरुको बढुवाको सम्वन्धमा अर्को बैठकमा निर्णय गरिने भएको छ । बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
