
पोखरा स्पोर्टस । आसन्न ‘पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’मा उपाधि सुनिश्चित गर्न गण्डकी प्रदेश भलिबल संघले तीन जना विदेशी खेलाडी समावेश गर्ने भएको छ ।
आफ्नै आङ्गनमा आयोजना हुने देशकै चर्चित टाइगर कप भलिबल प्रतियोगितामा टिममा समावेशका लागि विदेशी खेलाडी निमन्त्रणा गरिएको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।
टिममा समावेशका लागि निम्त्याइएका तीन जना खेलाडी अफ्रिकी मुलका छुट्टा–छुट्टै देशका हुन् । गण्डकीको टिममा समावेश खेलाडी फाहिम मिलाडी ट्युनिसियाका हुन् । त्यस्तै अर्का खेलाडी केन्याका निकोलाश मातुयी तथा कङ्गोका यानिक शेसा रहेका छन् ।
तीन जना खेलाडी टिममा समावेश गर्दा करिव १५ लाख खर्च लाग्ने अध्यक्ष गुरूङले पोखरा स्पोर्टसलाई जनाए । उनले भने–“खर्च ठुलो छ तर आफ्नै आङ्गनमा आयोजना हुने ठूलो प्रतियोगिताको उपाधि समेत हात पार्नु छ”, उनले थपे–“हामी संग आर्थिक चुनौती हुँदा हुँदै पनि तीन जना विदेशी खेलाडी बोलाउन बाध्य छौं । किनभने यो हाम्रो प्रतिष्ठाको विषय समेत हो ।”
“गण्डकीका दर्शक र समर्थकलाई निराश नबनाउने गरी हामीले बिदेशी खेलाडी बोलाएका हौं,” अध्यक्ष गुरूङले भने–“हामी दुई पटको उपाधि बिजेता र एक पटकको उपविजेता हौं । हामी उपाधि घर बाहिर लान दिन्नौ । यसमा दर्शक र गण्डकीको भलिबललाई माया गर्नेहरुको साथको खाँचो छ । हामी गण्डकीको भलिबलको विकास संगै खेलाडी उत्पादनमा समेत उत्तिकै सक्रिय हुन चाहन्छौं ।”
चार सस्करण सम्पन्न भएको टाइगर कप भलिबलमा गण्डकी दुई पटकको उपाधि विजेता हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता हो भने चौथो सस्करणको उपविजेता हो । गण्डकीले आफ्नो टिमको नाम यथासिघ्र घोषणा गर्ने अध्यक्ष गुरूङले जानकारी दिए ।
माघ १२ गते देखि १९ गते सम्म आयोजना हुने ‘पाँचौ एनसेल टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ मा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५ लाख ८५ हजार ५ सय ५५, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद रु २५ हजार ७ सय ७७, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले समान नगद रु १० हजार ५ सय ५५ का साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेका थिए । गण्डकी प्रदेश भने उपबिजेतामा सिमित रहेको थियो ।
