
पोखरा स्पोर्टस । पोखरामा ‘पोखरा कप राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिता’ हुने भएको छ ।
गण्डकी प्रदेश बास्केटबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा उक्त प्रतियोगिता आगामी माघ ७ गतेबाट ९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागिताका लागि सबै प्रदेशहरुलाई पत्रचार गरिएको अध्यक्ष धोज कुमार गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद रु १ लाख ११ हजार १११, दोस्रो हुनेलाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका संघका अध्यक्ष गुरूङले बताए ।
लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागि टिमका खेलाडीहरुलाई आवाश र यातायतको सुविधा समेत दिइने संघले जनाएको छ ।
यसै गरी संघको शुक्रबार सम्पन्न बैठकले तीनजना व्यक्तित्वहरुलाई संघको सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष गुरूङले जानकारी दिए । संघको सल्लाहकारमा नेपाल बास्केटबल संघका उपाध्यक्ष एवं कास्की बास्केटबल संघका संस्थापक जुम प्रसाद गुरूङ, टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र बरिष्ठ समाजसेवी एवं प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरूङलाई मनोनयन गरेको छ ।
सल्लाहकारमा मनोनय गरेका तीनजनालाई पत्र समेत हस्तान्तरण गरिएको जनाउँदै खेलकुद र सामाजिक कृयाकलापमा सक्रिय उनीहरुको योगदान बास्केटबल खेलको उन्नयनका लागि समेत उत्तिकै महत्वपूर्ण हुने अध्यक्ष गुरुङले जनाएका छन् ।
