पोखरेली दुई टेनिस खेलाडी अभिषेक र शाल्भी विदेशतर्फ

पोखरा स्पोर्टस । पोखरेली दुई टेनिस खेलाडी अभिषेक बास्तोला र शाल्भी शेरचन विदेश प्रस्थान गरेका छन् ।

दुई छुट्टा–छुट्टै देशमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरका टेनिस प्रतियोगिताहरूमा सहभागिता जनाउँन उनीहरु बिदेश प्रस्थान गरेका हुन् । विश्व वरियता १९७० मा रहेका अभिषेक जापान र शाल्भी श्रीलंका प्रस्थान गरेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

जापानमा आयोजना हुने विश्वस्तरीय प्रतियोगिता विश्वभरका ३ हजार खेलाडीमा छनौटमा पर्दै अभिषेक जापान जान लागेका हुन् । पोखरा ९ महेन्द्रपुल निवासी अभिषेक विश्व वरियतामा रहेका एक मात्र नेपाली खेलाडी हुन् । उनले हालै बहराइनमा सम्पन्न डेभिस कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको टेनिस  र्‍याकिङलाई समेत माथी उठाउन भूमिका खेलेका थिए । पोखराकै नेपाल नं १ प्रदिप खड्का संग मिलेर प्ले–अफ र मेन ड्र का सबै खेल जितेका थिए ।

यस्तै पोखरेली जुनियर गर्ल्सतर्फकी खेलाडी शाल्भी शेरचन पोखराबाट नेपालको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा सहभागिता जनाउने पहिलो खेलाडी बनेकी छन् । उनी श्रींलकामा आयोजना हुने ‘आइटिएफ एसिया १४ एण्ड अन्डर डेभलप्मेन्ट च्याम्पियनसिप’मा सहभागिता जनाउने छिन् । दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा पूर्वी एसियाको क्षेत्रिय छनौटको रुपमा रहेको उक्त प्रतियोगिता यहि पौष २९ गतेबाट सुरू हुनेछ ।

१३ भन्दा बढि देशहरुको सहभागिता हुने प्रतियोगिता शाल्भी संगै यू–१४ की शिवाली गुरूङ समेत सहभागिता हुने अध्यक्ष कायस्थले जानकारी दिए ।

दुबै पोखरेली खेलाडीहरुको अन्तर्राष्ट्रिय सहभागिताले गण्डकी प्रदेशको टेनिस खेलले नयाँ आयाम थपिने अध्यक्ष कायस्थले जनाएका छन् । उनले भने–“यो महत्वपूर्ण अवसर हो । म संघको तर्फबाट उच्च खेल प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । उनीहरुको प्रदर्शनले यूवा खेलाडीहरुलाई टेनिस खेलमा आकर्षण गर्न सहयोग पुग्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close