
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेश फुटबल संघ (एन्फा गण्डकी)सहित १७ वटा खेल संघहरुलाई दर्ता खारेज गर्ने भन्दै पत्र पठाएको छ ।
परिषदले सबै प्रदेश खेल संघहरुलाई यहि पौष २० गते सम्म साधारण सभा सम्पन्न गरी नविकरण गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । परिषदमा दर्ता भएका ५० खेल संघ मध्ये १७ वटा खेल संघहरुले दर्ता नविकरण नगरेको उनीहरुलाई किन खारेज नगर्ने भन्दै पत्रचार गरिएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमाबली २०७८ को नियम ८ बमोजिम निवेदन पेश गरी नविकरण नगरेको जनाउँदै उल्लेखित नियमावलीको नियम १० (क) ब्यवस्था बमोजिम नविकरण नभएका संघको दर्ता खारेज किन नर्गने भन्दै ७ दिन भित्र जवाफ पेश गर्ने गरी स्पष्टिकरण सोधिएको परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्य द्वारा हस्ताक्षरित पत्रमा सोधिएको छ ।
परिषदका महाशाखा प्रमुख आचार्यद्वारा हस्ताक्षरित पत्रमा नविकरणका लागि ढिलाईका कुनै आधार प्रमाण भए प्रमाणको प्रतिलिपी संलग्न राखी पेश गर्न सात दिनको समय दिइएको छ । “७ दिन भित्र आधार र प्रमाण पेश हुन नआएमा त्यस संघको दर्ता खारेज हुने हुँदा तथा त्यस संघको लेटरप्याड छाप र पदिय हैसियतले कुनै कार्य गर्न नगराउन”, पत्रमा भनिएको छ । खारेज भएका संघहरुले लेटरप्याड छाप र पदिय हैसियत प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम सजायको लागि कार्वाही प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ ।
खारेजका लागि स्पष्टिकरण सोधिएका संघहरु
गण्डकी प्रदेश फुटबल संघ, गण्डकी प्रदेश साइक्लिङ संघ, गण्डकी प्रदेश ट्रायथलन संघ, गण्डकी प्रदेश इक्वेस्ट्रियन संघ गण्डकी प्रदेश क्लाइम्विङ संघ, गण्डकी प्रदेश योग खेलकुद संघ, इ–स्पोर्टस संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश र्याफटिङ एण्ड क्यानोइङ संघ, सितेरियो कराते महासंघ गण्डकी प्रदेश, गण्डकी प्रदेश टेबुल टेनिस संघ, गण्डकी प्रदेश कुस्ती संघ, गण्डकी प्रदेश रग्बी संघ, नेपाल मार्शल आर्ट गेम्स महासंघ गण्डकी प्रदेश, एडमेन्चर रनिङ फेडेरेशन गण्डकी प्रदेश, गण्डकी प्रदेश आर्चरी संघ, नेपाल रेसिङ स्पोर्टस एशोसियसन गण्डकी प्रदेश ।
हाल प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता रहेका ५० खेलकुद संघ–संस्थाहरु मध्ये ३३ वटाले नविकरण गरेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
