
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले विगतका सबै कुरा विर्सेर आफ्नो प्रशिक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।
१९ औं एसियाली खेलकुद सम्पन्न भए लगत्तै २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरिएको बताउँदै उनले भने–‘हाम्रो यो तयारी करिब ३ वर्ष चल्छ । यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईं खेलाडीहरुमध्येबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ । विगतमा के भयो के भएन त्यो विर्सिनुस् । अब हामीले गर्ने बेला आएको छ । यो उपलब्धी हासिल गर्न साधारण मिहिनेतले पुग्दैन । असाधारण प्रयासबाट मात्र सम्भव हुन्छ । यो जिम्मेवारी तपाईं खेलाडीहरुसंगै प्रशिक्षकको पनि हो । राष्ट्रिय टिम तयारीको पनि हो ।’
सदस्य–सचिव घिसिङले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिदै तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसंग प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिए ।
सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए । उनले खेलाडीको पुरस्कारको व्ययवस्था कानूनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गरे ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैले जितेसरह हुने धारणा व्यक्त गरे ।
प्रशिक्षकका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताउदै पाएको अवसरलाई भरपूर उपयोग गर्नु पर्ने बताए ।
हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताइन् ।
मंसिर १ गतेदेखि सुरु भएको यो आ.व. को विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् । कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रब्य दृष्य पनि प्रदर्शन गरिएको थियो ।
सदस्य–सचिव घिसिङको अवधारणा अनुरुप सन् २०२६ मा जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणको तयारी थालिएको पहिलो पटक हो ।
एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।
