
पोखरा स्पोर्टस/मदनमणी तिमिल्सिना । पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलनु महोत्सव मङ्गलबार पोखरामा सुरु भएको छ । पोखराको पामे क्षेत्रमा यही पुस १७ गतेसम्म उक्त महोत्सव सञ्चालन हुने भएको हो ।
विशेषगरी यस सुन्दर नगरी पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य सहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सव भएको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित महोत्सवको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पोण्डेले गरेका छन् । सो अवसरमा उनले महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने बताए ।
पोखरामा डुङ्गा खियायर मनोरञ्जन गर्ने क्रम क्रमिरुपमा प्याराग्लाङिडिङ्ग, अल्टा फराइटि र हाल हट इयर बेलुन सम्म आइ पुगेको र अन्तर्राष्ट्रिय महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटकिय नगरी पोखरामा आउनेमा आफू विश्वस्त रहेको महोत्सवका ब्राण्ड एम्बासडर तथा महानायक राजेश हमालले बताए ।
यस महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने छ ।
नौ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने छ ।
त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पोखराको आकाशमा उड्ने छन् ।
हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।
पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
सुरक्षाको लागि महोत्सव अवधिभर पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको छ ।
वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।
