
पोखरा स्पोर्टस । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा बिहिबार भएको पहिलो खेलमा रामघाट टिम ए’ले लामाचौर स्पोर्टसलाई ५५–२६ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यस्तै दोस्रो खेलमा ताङतिङले गलेश्वरलाई ४३–२८ ले पराजित गर्दा तेस्रो खेलमा अन्नपूर्ण म्याग्दीले टिम एएमआइसिआईलाई ३८–३२ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।
यस्तै महिलातर्फको पहिलो खेलमा अन्नपूर्ण कास्कीले मर्दीखोलालाई ३५–१२ ले पराजित गर्दा दोस्रो खेलमा ताङतिङले टिम पिएनसीलाई ६३–१७ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे ।
पुरुषतर्फको क्वाटरफाइनल खेल र महिलातर्फको सेमिफाइनल खेल शुक्रबार सञ्चालन हुनेछ । कार्यक्रम संयोजक राजकुमार गुरुङका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार प्रदान गरिने छ भने उपविजेता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।
