
पोखरा स्पोर्टस । चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् ।
कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे ।
ग्रस तर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका नोर्बु शेर्पा उपविजेता बने । उनले ३२ स्कोर गरे । उनलाई काउण्ट व्याकको नतिजाले साथ दियो । त्यस्तै नेट तर्फ थमेशले ३५ स्कोर सहित उपाधि जित्दा ३४ स्कोर गरेको निल थापा दोस्रो र ३३ स्कोरसहित पासाङ शेर्पा तेस्रो बने । उनीहरुले नगद स्वरुप २०, १५ र १० हजार प्राप्त गरे ।
महिला तर्फको प्रतिस्पर्धाको उपाधि जान्भी गुरुङले प्राप्त गरिन् । जुनियर तर्फको पुरस्कार डानियल बानियाँले पाउँदा सबैभन्दा पाका गल्फरको पुरस्कार भने मेजर लछिमीप्रसाद गुरुङले प्राप्त गरेका थिए ।
टिम इेभण्ट(बेटर बल)को पुरस्कार प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले १० अण्डर ५९ को स्कोरसहित उपाधि जिते । उनीहरुले नगद ५० हजार प्राप्त गरे । त्यसैगरी कृष्ण पुन र बालकासी गुरुङको टिम काउण्ट व्याकमा दुई अण्डर ६७ स्कोरसहित उपविजेता बन्यो । ऋषिकेस सेन र श्याम सुब्बा भने समान २ अण्डर ६७ स्कोरसहित तेस्रो स्थानमा रहे । उनीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
