१४औं एन प्याव्सन खेलकुद महोत्सव पोखरामा सुरू, मन्त्री चौधरीले गरे उद्घाटन (भिडियो सहित)

पोखरालाई खेलकुदको राजधानी बनाउनु पर्छ–मन्त्री चौधरी

पोखरा स्पोर्टस । नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव सुरू भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि सुरू भएको हो । ‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ । खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्दैछन् ।

जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।  त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।

जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।

त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्रतर्फ फुटबल र छात्रा तर्फ सेभेन ए साईड प्रतियोगिता रहेको छ ।

खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

महोत्सवको उद्घाटन गर्दै संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानिको रुपमा विकास गर्नुपर्ने बताए ।

‘पोखरा पर्यटकको राजधानीसँगै यहाँहुने हरेक खेलकुदका कार्यक्रममा खेलकुदको राजधानिको रुपमा पनि जोडेर लान जरुरी छ’ उनले भने–‘पोखरालाई खेलकुदको राजधानि बनाउनका लागि मन्त्रालयबाट पनि सहयोग रहने छ ।’ 

उनले निजि तथा आवासिय विद्यालयले गरेको खेलकुदका गतिविधिले नै खेलाडि उत्पादन गर्न सकेको बताए ।

पछिल्लो समय नेपाल भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीहरुलाई पढाई सँग खेल क्षेत्रमा पनि समावेश हुन आग्रह गरे । 

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले विद्यार्थीलाई सवल र सक्षम बनाउनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै यस्ता खालका कार्यक्रमबाट नै निजि विद्यालयतर्फ आकर्षण बढेको उल्लेख गरे ।

यसैगरी मंगलबार नै भएको मार्च पासमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम अञ्जुली बोर्डिङ स्कुल द्धितीय, शान्तिवाटीका इंगलिस स्कुल तृतीय र मर्निङ ग्लोरी एकेडेमी स्कुल चौथा भएका छन् । त्यसैगरी छात्र तर्फको १५०० मि. दौडमा सिद्धार्थ लवडेल बोर्डिङ स्कुलका दुतराज गुरुङ प्रथम, अक्सफोर्ड स्कुलका ईश्वर ढकाल द्धितीय र रिलायन्स पब्लिक इंगलिसका प्रिन्स परियार तृतीय भए ।

त्यसैगरी छात्रा ८०० मि.तर्फ त्रिवेणी पब्लिकी कविता घर्ती प्रथम, हेम्जा वोर्डिङ स्कुलकी स्टर मगर द्धितीय र ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेलले जानकारी दिए ।

यसैगरी छात्र बास्केटबलतर्फ त्रिवेणी पब्लिक प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा युनिभर्स इंगलिस वोर्डिङ स्कुल र सिद्धार्थ लवडेल वोर्डिङ तृतीय भएका छन् ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपानेले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close