
पोखरा स्पोर्टस । पोखराको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मध्येको आर्दश कप फुटवल प्रतियोगिता शनिबारबाट सुरू भएको छ ।
लेखनाथस्थित आर्दश खेल मैदानमा सुरू भएको २५औं संस्करणको आर्दश कपको उद्घाटन खेलमा आयोजक आर्दश क्लबले एन्फा तनहुँलाई १–० ले हराउँदै बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लवका सजिन मगरले गरेको गोल नै निर्णायक बन्यो ।
यसै बिच प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् । प्रदेश खेलकुद परिषदको संरक्षक समेत रहेका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेल पर्यटनको माध्यमबाट विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताए ।
शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोड्दै समग्र प्रदेशको विकास गरिने जनाए ।
मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कभर्ड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
पोखरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन चाहेको वताउँदै प्रदेश भित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री पाण्डेले वताए ।
प्रदेश सरकारले मुस्ताङमा हाईअल्टिच्यूड खेल मैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत मुख्यमन्त्री पाण्डेले सुनाए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिए ।
उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता नपाएको वताउँदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए ।
‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।
