
पोखरा स्पोर्टस । काठमाण्डौमा यहि मंसिर २२ गतेबाट सुरू हुने काभा मेन्स भलिबल च्याम्पियनसिपमा सहभागि हुन गण्डकी प्रदेशको टोली बुधबार काठमाण्डौ प्रस्थान गरेको छ ।
काठमाण्डौ प्रस्थान गर्नु अघि टाइगर ग्रुप अफ पोखरा नेपालले टिमलाई ‘केल्मी’ ब्राण्डको खेल पोशाक हस्तान्तरण गरेको छ ।
यस अघि पोखरा रंगशालामा गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको बिदाई कार्यक्रममा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टिमलाई जितको शुभकामना दिएका छन् । सो अवसरमा मन्त्री चौधरीले गण्डकीको टिम उत्कृष्ट टिमको रुपमा जित हासिल गर्न सक्ने जनाउँदै आफ्नो शुभेच्छा रहेको बताए ।
नेपाली खेलकुदमा अझै पनि खेलाडीहरुका लागि कठिन अवस्था रहेको जनाउँदै उनले सरकारले खेलाडीहरुको हितका लागि आफ्ना कार्यक्रमहरु योजनावद्धरुपमा अघि सारेको उल्लेख गरे । उनले भने–“खेलाडीहरुले निकै मेहन गरेर खेलेका छन् । हामी खेलाडीहरुले अन्तर्राष्ट्रिय ऐरिनामा गरेको प्रदर्शनमा सरकारले दिने पुरस्कारको रकम समेत यथासिघ्र उपलव्ध गराउँदै आएका छौं ।”
यति बेला निजी क्षेत्र समेत खेलकुदमा लगानीका लागि अघि आएको जनाउँदै यसले नेपाली खेलकुद क्षेत्र र खेलाडीहरुलाई निकै उत्साह जागेको समेत बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन र टिम स्पिरिटमा खेल्न आग्रह गर्दै राज्यले खेलाडीहरुको हितमा अझै कार्य गर्न नसकेको जनाए । उनले खेलकुदको विकासका लागि स्रोतहरु जुटाउन धेरै भन्दा धेरै प्रतियोगिताहरु आयोजना गर्नेगरी अघि बढ्न प्रदेश खेलकुदले योजनावद्ध रुपमा अघि बढेको जनाए ।
कार्यक्रममा बोल्दै टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष एवं नेपाल भलिबलका सल्लाहकार टाइगर ग्रुपले खेलाडीहरुको प्रोत्सहानका लागि खेल पोशाक प्रदान गरिएको बताउँदै माघको १२ गतेबाट पाँचौ संस्करणको टाइगर कप सुरू हुने जानकारी समेत दिए । उनले काभा च्याम्पियनसिपमा गण्डकीको टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको जनाउँद्यै जितको शुभकामना व्यक्त गरे ।
गण्डकी प्रदेश भलिबल संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिशीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव टहलसिंह थापा मगरले समेत आफ्ना भनाई राखेका थिए ।
गण्डकीले काभा च्याम्पियनसिपमा उद्घाटन खेल खेल्दैछ । गण्डकीको टिममा तीन भारतिय खेलाडी र तीन जना नेपाल आर्मीका खेलाडीसहित मैदानमा उत्रिनेछ ।
गण्डकीको टिममा भारतीय खेलाडीमा हिमांशु त्यागी, साहिल कुमार र प्रिन्स रहेका छन् ।
गण्डकीको टोलीमा सदाबहार खेलाडी खोम प्रसाद पाण्डे ‘हरि’को कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी आउट साइड हिटरमा रवि केसी र सरोज वर्देवा, सेटरमा विवश आले, दुर्गा प्रसाद महतो र राजन थापा, मिडल ब्लकरमा हिमाल सुनारी, हरि बहादुर अधिकारी र इन्द्र बहादुर विक तथा लिवेरोमा कुन्जन शाही ठकुरी र ईश्वर थापा रहेका छन् ।
त्यसै गरी टिमको मुख्य प्रशिक्षकमा, रमेश केसी, सहायक प्रशिक्षकमा शंकर गुरुङ र उत्तम थापा, टिम व्यवस्थापकमा टुक बहादुर गुरुङ र फिजियोमा डा. अनुप रहेका छन् ।
