दुरगामी लक्ष्यका साथ राखेपद्वारा ‘स्पोर्टस फर फ्यूचर कार्यक्रम’को सुरुवात

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै दुरगामी लक्ष्यका साथ पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्ट मार्फत खेलाडी छनौट हुन लागेको हो ।

आठ बर्षे योजना अनुसार स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रमका सुरुवात गरेको हो । ओलम्पिक सम्मको सहभागितालाई लक्ष्य राखी शारिरीक बनौट र क्षमताको परिक्षण मार्फत खेलाडी छनौट कार्यक्रम सुरुवात गरिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो ।

एन्थ्रोपोमेट्रिक टेस्ट कोशी प्रदेशको इलाममा मंसिर १८–१९ र विराटनगरमा मंसिर २१–२२, मधेश प्रदेशको धनुषामा मंसिर २४–२५ र वीरगन्जमा मंसिर २७–२८, बागमती प्रदेशको भक्तपुरमा मंसिर ३०–पुस १ र चितवनमा पुस ३–४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६–७ र म्याग्दीमा पुस ९–१० गतेसम्म हुनेछ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मंसिर १८–१९ र टीकापुरमा मंसिर २१–२२, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २६–२७ र सल्यानमा मंसिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मंसिर २३–२४ र दाङको बेल्झुण्डीमा पुस २–३ गतेसम्म सञ्चालन हुनेछ ।

सातै प्रदेशबाट समान १०–१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिने छ । पहिलो वर्ष बालबालिकालाई मोटर सीपहरु जस्तै गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ ।

दोश्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सीप विकास र व्यक्तिगत चासोको आधारमा उनीहरुलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीति बारे प्रशिक्षण प्रदान गरिने छ । एक ओलम्पिक चक्र पश्चात पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएको खण्डमा खेलाडीलाई निरन्तरता दिइने छैन ।

राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीति सम्बन्धी सेवा उपलब्ध गराउने छ ।

एन्थ्रोपोमेट्रिक टेस्टका लागि राखेपले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गर्ने छ । कोशी, मधेश, बागमती र गण्डकीमा सानका निर्देशक कृष्ण तिमिल्सिनाको नेतृत्वमा राजेन्द्ररत्न तुलाधर र शिवराज भट्ट खटिने छन् । बाँकी प्रदेशमा सुलोचना सिजख्वा, कुमारी हिरा पन्त र रितामैया प्रजापति जाने छन् ।

छनोट भएका बालबालिको अन्तिम नामवली २०८१ साल पुस २९ गते प्रकाशित गरिने छ भने नियमित प्रशिक्षण २०८२ साल बैशाख २ गतेदेखि प्रारम्भ हुनेछ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सन् २०३२ को ओलम्पिकमा पदक जित्ने रणनीतिक तयारी अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउदै नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षणलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए । बैज्ञानिक तरिकाबाट खेलाडी छनौट र प्रक्षिणमा जोड दिदै आउनु भएका सदस्य सचिव घिसिङले यो कार्यक्रम नेपाली खेलकुदका लागि कोशेढुंगा सावित हुने बताउनुभयो ।

१९औं एशियाड पछि मिसन २०२६ सुरुवात गरेको राखेपले ओलम्पिक लगत्तै नयाँ कार्यक्रम सुरुवात गरेको हो । ‘गत वर्ष पनि हामीले केही स्थानमा यो कार्यक्रम सञ्चालन गरेका थियौं । त्यही कार्यक्रमको मूल्यांकनका आहधारमा स्पोर्टस फर फ्यूचर कार्यक्रम सुरु गरिएको हो । रणनीतिक तयारी अन्तर्गत हामी अगाडि बढेका हौं ।’ सदस्य–सचिव घिसिङले भने– यो कार्यक्रम मार्फत छनोट भएका बालबालिकालाई खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिदै सन् २०३२ को ओलम्पिकमा पदक जित्ने हाम्रो दुर्गामी लक्ष्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close