१८ औं प्याब्सन स्पोर्टस् मिट : फुटबलका प्रतिस्पर्धा सुरू

पोखरा स्पोर्टस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ अन्तर्गत फुटबलका प्रतिस्पर्धाहरु सुरू भएका छन् ।

पोखराका विभिन्न खेलकुद मैदानमा सुरू भएको प्रतियोगिताको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । स्पोर्टस मिट अन्तर्गत छात्र/छात्रा सिनियर, सेकेण्डरी लेभल र छात्र जुनियर फुटबल सुरु भएको प्बाब्सन कास्कीका सचिव पुष्प.पराजुलीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत सिनियर फुटबलतर्फ ६ खेल सम्पन्न भएका छन् । जस अन्तर्गत पहिलो चरणको खेलमा पोखरा एकेडेमीले लक्ष्मी आवाशियलाई २–० गोलले, बेसलाइनले गोल्डन फ्युचरलाई ४–० ले, ताराकुञ्जले विद्या निकेतनलाई १–० ले, बालोदयले एक्स आर्मीलाई ३–० ले, शिसुनिकेतनले सूर्योदयलाई ५–१ ले, बाल कल्याणले बालप्रभातलाई ४–० गोलले पराजित गरेका छन् ।

यसै गरी सिनियर फुटबल छात्रतर्फ कन्चनजंघाले सोसल पब्लिकलाई २–० गोलले पाखा लगाएको छ भने ज्ञानकुञ्जले नव आदर्शलाई २–१ ले, ढुङ्गेसांघुले बेसलाइनलाई १–० ले, शान्ती दिपले बिएमजीलाई ७–० को भारी गोलअन्तरमा पराजित गरेको छ । यस्तै एक अर्को खेलमा भ्यू पोइन्ट र मदरल्याण्ड विचको खेल निर्धारित समयमा १–१ गोल अन्तरले सकिएपछि टाइव्रेकरमा भ्यू पोइन्ट ४–२ ले बिजयी बन्यो ।

त्यस्तै सेकेण्डरी लेभल छात्रतर्फको फुटबलमा कन्चनजंघाले न्यूलाईटलाई २–१ गोलले पराजित गर्दा धौलागिरीलाई लिटिल स्टेपलाई ४–० ले, गोल्डन नेचरले अल्फालाई ४–३ ले, रेन्वो एकेडेमीले शितलज्योतीलाई ४–० गोलले, रिभर डेलले पोखरा युनाइटेडलाई १–० ले, कुमुदिनीले टप्सलाई १–० ले, नव आदर्शले हाभर्ड माविलाई ४–० ले पराजित गरेको छ ।

यस्तै भ्यू पोइन्टले बेसलाइनलाई ४–२ ले, फेवाले धवलागिरीलाई ४–२ ले, शिसु कल्याणले शान्तीदिपलाई २–० ले, ग्लोबलले हिमाञ्चललाई २–० ले, हाभर्डले पिकेजीलाई १–० ले, प्रतिभाले टप्सलाई १–० ले, बालोदयले विद्या निकेतनलाई २–० ले, ज्ञानकुञ्जले बालविद्यालाई ४–० ले, भास्करले मेरीगोल्डलाई सडेन डेथमा ७–६, पिएलएले फिसटेललाई टाइव्रेकरमा ४–३, प्रगतीले स्नोभ्यू ४–२ ले पराजित गर्दा स्टेपवाई स्टेपले वाक ओभर दिंदा सितल ज्योतीले बिजयी बन्दा लिटिल स्टेपले वाक ओभर दिंदा ज्ञानुबाबा बिजयी बन्यो ।

यस्तै जुनियर छात्र फुबटलतर्फ पहिलो दिन ६ खेल सम्पन्न भएको प्रचार प्रसार समितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । प्रतियोगितामा प्रतिभा मावि, बालोदय मावि, ज्ञानकुञ्ज, भास्कर मेमोरियल, पोखरा लनर्स र प्रगतीले आ–आफ्नो खेल जितेका छन् ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ । तीमध्ये छात्र–छात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा ह्याण्डबल, छात्र–छात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन् । यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा एथलेटिक्सका खेलहरु हुने प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।

प्रतियोगिता संचालन गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । च्याम्पियन हुने विद्यालयले रनिङ सिल्ड जित्नेछ । विभिन्न इभेन्टका विजयीलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

१८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन मंसिर १९ गते पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नेछन् । त्यसअगावै पोखराका अन्य ५ खेलकुद मैदानमा फुटबललगायतका खेल सुरु भएका छन् । प्रहरी गुल्म, प्रहरी गण, पोखरा १४ स्थित रामेश्वरी स्कुल, शान्तिदीप स्कुल र मसिनास्थित नवप्रतिभा क्लबको खेल मैदानमा प्रतियोगिता सुरु भएका छन् ।

प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले विभिन्न खेलमा सहभागिता जनाउँदै छन् । प्याब्सनमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन् । संस्थामा आबद्ध विद्यालयहरुमा ७५ हजारभन्दा विद्यार्थी छन् । साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close