
पोखरा स्पोर्टस । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको जति चर्चा छ तर बास्तवमा त्यो स्थानिय क्लबहरुको प्रशिक्षणका लागि मात्रै उपयूक्त छ । तर विश्वकप जस्ता ठूला प्रतियोगिताहरुको लागि पोखरा रंगशालाको क्रिकेट मात्रै होइन देशकै ठूलो फूटबल स्टेडियम पनि टेक्निकली नमिल्ने अवस्थामा छ ।
सन २०२७ मा हुने भनिएको वर्ल्ड कप महिला यू १९ प्रतियोगिताको दोस्रो भेन्यूको रुपमा हेरिएको पोखरा क्रिकेट रंगशाला अवलोकन पछि आइसिसीका रिजनल म्यानेजर रोहित पोदार, एसिसीका डेभलप्मेन्ट म्यानेजर इमान्यूल इस्लाम र स्वयं क्यानका अध्यक्ष चतुर बहादुर चन्द निकै चिन्तित मुडमा देखिन्छन् । पोखरामा खेलहुनु पर्छ भन्नेमा उनीहरु एकमत त छन् तर पूर्वाधार निर्माण कस्ले र कहिले सम्म गर्ने ? तत्काल जवाफ कोही संग छैन । किनभने पूर्वाधार निर्माणमा राज्यको लगानी आवश्यक पर्छ । तर कुन सरकार संघिय, प्रदेश वा महानगर त्यो पनि जवाफ छैन ।
यसै बीच पोखराका सञ्चारकर्मीहरुको भेटमा क्यान अध्यक्ष चन्दले आफ्नो रोजाई भरतपुर पछि पोखरा नै रहेको र पोखरामा नै वर्ल्डकप हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । उनले भने–“यू–१९ महिला वर्ल्डकपको सहआयोजक देश भएको नाताले पोखरामा एक खेल हुनुपर्नेमा क्यान छ । मेरो पनि पोखरा पहिलो रोजाईको भेन्यू हो । तर पूर्वाधारको हिसावले सम्भव नै छैन ।”
यस्तै आइसिसीका रिजनल म्यानेजर पोदार समेत वर्ल्डकपका लागि आइसिसीले निर्धारण गरेको विषयहरु प्राथमिकतामा रहनु पर्ने औंल्याए । “पोखरा क्रिकेट मैदान मात्र हो । यसले वर्ल्डकपका लागि आवश्यक विषयहरु पुरा गर्न सकेको छैन । हामी संग करिव २ वर्ष बाँकी छ । यदि यहाँको सरकार दुई वर्ष भित्र पूर्वाधार निर्माणका लागि तयार भए आइसिसीले यसलाई सकरात्मकरुपमा हेर्नेछ”, उनले भने ।
पोखरामा क्रिकेट खेल मैदानको अवलोकन र पोखराका मेयर सरकारका मन्त्री संगको भेटले आफू निकै उत्साहित रहेको जनाउँदै जेनेरल म्यानेजर पोदारले भने–“यदि उहाँहरुले हाम्रो भेटमा गर्नु भएको कमिटमेन्ट हो भने त्यो हाम्रो लागि महत्वपूर्ण र हामीलाई उत्साहित बनाएको छ । तर पूर्वाधार निर्माण पहिलो शर्त नै हो ।”
यस्तै एसिसी डेभलप्मेन्ट म्यानेर इमान्यूल इस्लाम समेत नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको शाख महत्वपूर्ण रहेको जनाउँदै वर्ल्डकपका लागि खेल मैदान कम्तिमा पनि आइसिसीले निर्धारण गरेको मापदण्ड पुरा हुनुपर्ने औल्याए ।
यस्तै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नो सम्पूर्ण ध्यान २०२७ विश्वकपका लागि रहेको जनाउँदै पूर्वाधार निर्माणका लागि सबै संग आग्रह गरे ।
आइसिसीको मापदण्ड अनुसार अन्तर्राष्ट्रियस्तरको पेभिलियन, मिडिया सेन्टर, शौचालय, सहज आवत जावतका लागि सडक र प्रशिक्षणका लागि अतिरिक्त दुई खेल मैदान आवश्यक हुने आइसिसी टोलीले जनाएको छ । ति सबै पूर्वाधारका लागि कम्तिमा ५ करोड भन्दा बढि खर्च हुने अध्यक्ष सिग्देलले बताए ।
यदि सन २०२७ मा पोखरामा दोस्रो भेन्यूका रुपमा क्यानले अघि सारे पनि पूर्वाधार निर्माण हुन नसकेको अवस्थामा चितवन वा लुम्विनी दोस्रो भेन्यूको रुपमा अघि बढ्ने निश्चित छ ।
