
पोखरा स्पोर्टस । ऐतिहासिक तथा धार्मिक केन्द्रको रुपमा रहेको गोरखामा ‘मनकामना–कालिका खुल्ला म्याराथन’ (४२.१९५ किमि) दौडको तयारी सुरू भएको छ ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा उक्त प्रतियोगिता यहि मंसिर २९ गते हुने भएको हो । प्रतियोगिताको तयारी तिब्र पारिएको समितिका अध्यक्ष कृष्ण सिंह बस्नेत(शान्त)ले जानकारी दिंदै गोरखा जिल्लामा नै पहिलो पटक खुल्ला म्याराथन दौड आयोजना गरिएको पोखरा स्पोर्टसलाई बताए ।
नेपालीहरूको आस्थाको धरोहर गोरखा जिल्लामा स्थापित मनकामना देवीको मन्दिरबाट सुरू हुने म्याराथन दौड गोरखाकै अर्को धार्मिक केन्द्रको रुपमा स्थापित गोरखा कालिका मन्दिरमा पुगेर सम्पन्न हुनेछ । मनकामना मन्दिर परिसरबाट सुरु हुने म्याराथन ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबर चौतारा तीनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, विपि चौतारा, ठूलो आँगन हुँदै सति पिपल, गैह्रीकुवा, हनुमान ढोका, गोरखकाली मन्दिर हुँदै हनुमान थानमा पुगेर सम्पन्न हुनेछ ।

उक्त म्याराथन दौडमा गोरखाको शहिद लखन गाउँपलिका र गोरखा नगर पालिकाको रुट प्रयोग हुने र खेलकुद मार्फत दुई महत्वपूर्ण धार्मिक केन्द्रहरुको प्रचार प्रसार संगै समग्र गोरखा जिल्लालाई खेलकुद केन्द्रको रुपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादनका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बस्नेतले बताएका छन् ।
गोरखा जिल्लामा नै पहिलो पटक आयोजित उक्त खुल्ला म्याराथनमा नगद पुरस्कार वापत रु ५ लाख ७० हजार खर्च हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बस्नेतले बताएका छन् । “गोरखामा आयोजना हुने अहिले सम्मकै वृहत प्रतियोगिता हो”, उनले भने–“यसले गोरखालाई खेलकुद केन्द्रको रुपमा स्थापित गर्न ढोका उर्घानेछ ।”
म्याराथनमा उपाधि विजेताले धावकले नगद रु १ लाख ५० हजार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले नगद रु १ लाख, तेश्रोले ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा चौथो देखि १० औं स्थान सम्म हुनेलाई क्रमश नगद रु ६० हजार, ५० हजार, ४० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै गरी प्रतियोगितामा दौड पुरा गर्ने सबै धावकहरुलाई मेडल प्रदान गरिने छ ।
उक्त म्याराथन प्रतियोगिता सम्पन्न गर्न करिव २७ लाख ११ हजार २५० रुपैँया खर्च अनुमान गरिएको जिल्ला खेलकुदले जनाएको छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, गोरखाका विभिन्न पालिकाहरुलगायते सहयोग गरेका छन् । पहिलो पटक आयोजना हुने म्याराथनमा विभागिय खेलाडीहरुसहित विभिन्न जिल्ला र स्थानिय गरी २ सय ५० भन्दा बढिले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
