
पोखरा स्पोर्टस । सातौं सस्करणको ‘टुर डि पोखरा’को तयारी सुरू भएको छ ।
साइकल सिटी पोखराको आयोजना तथा पोखरा महानगर पालिका कार्यालयको सहयोगमा यहि पौष १३ गते हुन लागेको हो । ‘स्वास्थ्यका लागि साइक्लिङ, वातावरण र पर्यटन’ भन्ने मुल उद्धेश्यका साथ ‘टुर डि पोखरा’ हुन लागेको संस्थाका सल्लाहकार प्रकाश बज्रचार्यले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
झण्डै दुई वर्षको अन्तरालमा निरन्तरता दिन लागिएको ‘टुर डि पोखरा’को एक महत्वपूर्ण कार्यक्रम मध्येको एक भए पनि आर्थिक अभावका कारण दुई वर्ष निरन्तरता दिन नसकिएको बज्रचार्यले बताए । उनले भने–“पर्यटकको बसाई लम्ब्याउन र स्वास्थ्य संगै वाताबरणका लागि ‘टुर डि पोखरा’ महत्वपूर्ण रहे पनि खर्च ठूलो छ । सहयोग जुटाउन समेत हामीलाई धौ–धौ नै छ । तर हामीले सबै कुरालाई थाँती राख्दै सातौ संस्करणको तयारी थालेका छौं ।”
टुर डि पोखरा’ अन्तर्गतको कार्यक्रमले पोखरा महानगर पालिकाको २४.५ किमि सडक क्षेत्र भित्र हुनेछ । पोखरा वडा नं ९ नयाँबजारबाट सुरु हुने टुर डि पोखरा’ सोही ठाउँमा आएर सम्पन्न हुनेछ ।
टुर डि पोखरा’का लागि पोखरेलीहरु संगै मित्र राष्ट्र भारत लगायतका देशहरुबाट समेत सहभागिताका लागि चासो राखिएको सल्लाहकार बज्रचार्यले पोखरा स्पोर्टसलाई बताए । “केही वर्षको ग्यापमा हामीले यो पुनः सुरु गरेका छौं । तर सहभागिताका लागि निकै चासो बढेको छ”,–उनले भने ।
यसै बीच हालै मात्र पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि पोखरा महानगर पालिकाले विकास साझेदार संग छलफल अघि बढाएको छ । उक्त साइकल ट्रयाक एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने छ ।
पोखरा आठ तालको शहरको रुपमा परिचित रहेकोले पनि ८५ कि.मी लम्बाइको ‘लेक टु लेक’ जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास गरिएको छ । जसका लागि एक अर्व रुपैयाँ खर्च हुनेछ । यसको निर्माण पुरा भए संगै पोखरा साइक्लिङ खेलको हव संगै दिगो पर्यटनका लागि कोशे ढुङ्गा हुने विश्वास व्यक्त गरिएको छ ।
