
पोखरा स्पोर्टस । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हिरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ३९ टीमको सहभागीता रहेको छ ।

हिरक महोत्सवमा विविध कार्यक्रमसहित सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । सो अवसरमा उनले विद्यालयले अन्तर विद्यालय स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेर विद्यालयहरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने कार्य गरेकोमा प्रशंसा गर्दै खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक संग संगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने बताए ।
खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्र तर्फ २६ टीम र छात्रातर्फ १३ टिम गरी कुल ३९ टिमको सहभागीता रहेको जानकारी दिए ।
प्रतियोगितामा छात्र/छात्रा भलिबल दुवैतर्फ प्रथम हुनेले नगद ५० हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्वितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक गुरुङले जानकारी दिए ।
