
पोखरा स्पोर्टस । पोखरा म्याराथनलाई युकेबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको जुम बैठकमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । यूकेस्थित विभिन्न ७ वटा संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु सम्मिलित बैठकमा आफ्ना भनाई राख्दै पोखरा म्याराथनले राष्ट्रिय गौरब संगै पोखरालाई खेलकुदको माध्यमबाट पहिचान दिन सफल रहेको बताउँदै उनीहरुले १९ औं सस्करणको म्याराथनमा सहभागिता जनाउने बताएका छन् ।

सहभागिहरुले खेलकुदका माध्यमबाट भावी पुस्तालाई जोड्दै कार्यक्रमहरुको निरन्तरता र दिगोपनाका लागि अक्षयकोषको स्थापना लगायतका विषयमा विशेष ध्यान दिन सुझाव समेत दिए ।
बैठकमा पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ ‘केभ’ले यूवा खेलाडी उत्पादन संगै पोखरा म्याराथनलाई अझै परिस्कृत बनाउँदै लैजान आग्रह गरे । त्यस्तै तमु धिं यूकेका अध्यक्ष हरि गुरुङले पोखरा म्याराथनले अन्तर्राष्ट्र्यि रुपमै चर्चा पाइरहेकोमा खुसी व्यक्त गर्दै संस्थाको तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाए भने सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ ‘कृश’ले पोखरामा हुने खेल गतिविधिमा संस्थाको पूर्ण सहयोग र सहकार्यको निरन्तरता जारी रहने उल्लेख गरे ।
यसै गरी बैठकमा आफ्नो भनाई राख्दै रोयल बोरो अफ ग्रिनविच यूकेका मेयर जित बहादुर रानाभाटले पोखरा म्याराथन बारे आफू पूर्ण रुपमा जानकार रहेको बताउँदै यस वर्ष आफ्नो सहभागिता रहने जनाए । तमु प्हेलु संघका पूर्व अध्यक्ष एव नेपाली भिलेज युकेका अध्यक्ष खुसीमान गुरुङ ‘एमभिओ’ले पोखरामा हुने गतिविधिले यूकेमा हुने नेपालीहरुको मन जोडन सफल रहेको जनाउँदै यूवा पुस्तालाई खेलकुदमार्फत स्वदेशमा जोड्नु पर्ने औंल्याए ।
यस्तै एनआरएनए आइसिसीका सल्लाहकार सूर्य गुरुङले गैर आवाशिय नेपाली संघले आफ्नो प्रतिवद्धता अनुरुप सहकार्यलाई निरन्तरता दिने विषयमा चासोका साथ छलफल अघि बढेको जानकारी दिए । तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङले पोखरा म्याराथनले विश्वका नेपालीहरुको मन जोड्न सफल रहेको जनाए भने तमु धिं यूकेका उपाध्यक्ष कमल गुरुङले विगतमा जस्तै गरी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहकार्यलाई अघि बढाउने जनाउँदै आफू समेत यो वर्ष म्याराथनमा सहभागिता हुने बताए ।
मञ्चका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष क्या.सिवी पुन, सहारा यूकेका पूर्व अध्यक्ष द्वय कुमार गुरुङ र ले.रि.कुशाङ गुरुङ, पोखरा म्याराथन यूकेकी संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राई, पोखरेली मञ्चका उपाध्यक्ष पवित्र गुरुङ, पोखरा म्याराथनका सहयोगी दुर्गा गुरुङ, समाजसेवी यशोदा गुरुङ, मञ्चका सल्लाहकार महेश गुरुङ, पोखरा म्याराथन अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक एवं मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङलगायतले आ–आफ्ना भनाई राखेका थिए ।
