पोखरा एभेन्जर्सका ‘कन्सल्टेण्ट’ ‘जोन्टी रोड्स’ पोखरामा

पोखरा स्पोर्ट्स । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् ।

एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका जाेन्टी बुधबार दिउँसाे २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् ।

पाेखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जाेन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पाेखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए।

टिमका लागि समर्थन जुटाउन बिहिबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा आइपुगेका हुन् । फेवातालस्थित फिस्टेल होटलबाट बिहान ८ बजे देखि सुरु हुने मोटरसाइकल र्यालीमा सयौँको सङ्ख्यामा समर्थकहरू सहभागी हुने तयारी छ।

पोखरा आइपुगेको जोन्टीसहितको टिमलाई प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टिम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँ हाते व्याट्म्यान हुन् ।

दिउँसाे काठमाडौं फर्किएर टिमका खेलाडीलाई काेचिङ दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ ।

पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सले यसअघि मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् ।

उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् । त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close