दक्षिण अफ्रिकी बलर ‘ल्यांङ’ चितवन राईनोजमा

पोखरा स्पोर्टस । दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।

१४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयाङलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेको हो ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन्। ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायर जस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।

त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए । उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए। सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

‘“नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु। सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,” मर्रस्यंट डी ल्यांङले भनेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी बिदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । “‘ल्यांङ एक उत्कृष्ट खेलाडी हुन् । उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं । उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close