
पोखरा स्पोर्टस । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरू छनौटका लागि ट्यालेन्ट हन्ट गर्ने भएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल गराउन ट्यालेन्ट हन्ट गर्न लागेको हो ।
यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले नेपाल प्रिमियर लिगका टिममा समावेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग खेल्न अवसरका साथै नगद पुरस्कार रु. १ लाख समेत् प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् । जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरुमा सहभागी हुने मौका प्राप्त गर्ने लुम्बिनी लायन्सले जनाएको छ ।
विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरिक्षणमा युवा क्रिकेटरहरुको सीप निखार्दै उनीहरुलाई व्यवसायिक क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ । ट्यालेन्ट हन्टबाट युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्ने गरी तयार समेत गरिने लुम्बिनी लायन्सले जनाएको ।
सो बारे जानकारी दिंदै लुम्बिनी लायन्सका चियरमेन इश्वर जिसिले खेलाडीहरुका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले भने, “यो अभियान अन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान खेलाडी खोज्ने प्रयास गरिरहेका छौँ । ति खेलाडी जसले क्रिकेटलाई आफ्नो व्यवसायिक खेलको रुपमा अघि बढाउन सकुन ।”
एनपिएलमा आफ्नो टिमले जित दर्ता गर्दै इतिहास बनाउने बताउँदै चियरमेन जिसीले भने, “लुम्बिनी प्रदेशको माटोले पहिलो वर्ष नै राम्रो सफलता हासिल गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । लुम्बिनी लायन्सलाई माया गर्नुहुने सम्पूर्ण लुम्बिनीवासी तथा देश–विदेशमा रहनुहुने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ । लुम्बिनी लायन्सलाई यसैगरी सधैंभरि माया गरिरहन पनि अनुरोध गर्दछौँ ।”
ट्यालेन्ट हन्टका लागि कार्तिक १८ गते भित्र आवेदन बुझाउन लुम्बिनी लायन्सले आग्रह गरेको छ ।
