कास्की एक दिवशिय क्रिकेट : कास्की क्रिकेट क्लबको जित, लेखनाथ क्लब बाहिरियो

पोखरा स्पोर्टस । कास्की जिल्ला क्लबस्तरीय एक दिवशिय क्रिकेटमा कास्की क्रिकेट क्लबले बिजयी सुरूवात गरे संगै लेखनाथ क्रिकेट क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कास्की ७ विकेटले जित हासिल गरेको हो । पराजित भए संगै लेखनाथ जारी प्रतियोगिताबाट बाहिरिएको छ भने कास्कीले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

प्रतियोगिताको पाँचौ खेल अन्तर्गत सोमबारको खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको लेखनाथ २०.५ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो ।

वर्षाका कारण भिजेको पिच मर्मतका लागि छोट्टाइएको ४३/४३ ओभरको खेलमा लेखनाथ कास्की क्रिकेटका बलर सामु धराशायी बन्न पुग्यो । म्यान अफ दि म्याच घोषित कास्की क्रिकेटका विश्वास पराजुलीले ६ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ३ विकेट हात पारे । लेखनाथका लागि विशाल पौडेलले ३४ बलमा एक चौका प्रहार गर्दै व्यक्तिगत १४ रन जोडे भने बिमान प्रधानले १३ बलको सामना गर्दै ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

कास्की क्रिकेटका लागि नितेश गिरी र आयुष सैंजुले २/२ विकेट लिए भने सचिन यादव र आदित्य थापाले समान १/१ विकेट हात पारे ।

जितका लागि ४७ रन पछ्याएको कास्की क्रिकेटले ७.४ ओभरमा तीन विकेट गुमाउँदै ४९ रन बनायो । ओपनर सोहेल कुंवरले २४ बलमा २४ रन बनाए । उनले आफ्नो इनिङमा २ चौका र १ छक्का समेत प्रहार गरे । उनी संगे इनिङको सुरूवात गरेका नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका अर्जुन कुमाल प्रदिप तामाङको बलमा १६ बलमा ९ रनको व्यक्तिगत स्कोरमा आउट भए । रोहित चन्दले ६ र सफल श्रेष्ठले ४ रन जोडे । आयुष सैंजु भने सून्य रनमा पेभिलियन फर्किए ।

लेखनाथका लागि विशाल पौडेलले ४ बलमा २ वाइड बल फाल्दै २ विकेट हात पार्दा प्रदिप तामाङले ३ ओभरमा १९ रन दिएर १ विकेट हात पारे ।

मंगलबारको खेल गण्डकी स्पोर्टस क्लब र अरञ्ज्योती क्रिकेट क्लबका बीच हुने कास्की क्रिकेटका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close