
पोखरा स्पोर्टस । मित्रराष्ट्र भारत पाटियाला प्रशिक्षण केन्द्र (एन.आइ.एस)का पूर्व विद्यार्थी (१९८५–८६) व्याचको टोली पोखरा आइपुगेको छ । पोखरा आइपुगेको टोलीलाई गण्डकी प्रदेश ह्याण्डबल संघ, जिल्ला ह्याण्डबल संघ कास्की र पोखरा महानगर ह्याण्डबल संघले संयूक्त रुपमा एक कार्यक्रम गरी स्वागत गरेको हो ।

पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, परिषदका सदस्य एवं गण्डकी ह्याण्डबलका उपाध्यक्ष गिरमान गुरुङ, गण्डकी ह्याण्डबलकी उपाध्यक्ष शान्ती थापा वैद्य, परिषदकी सदस्य एवं संघकी सदस्य विष्णु माया गुरुङ, ह्याण्डबल संघ गण्डकीकी सदस्य सरस्वती पोखरेल, कास्की ह्याण्डबलकी सह–संयोजक बाला कुमारी गुरुङ, गण्डकी बक्सिङका अध्यक्ष विद्याप्रसाद मर्सानीलगायतले टोलीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं परिषदका निवर्तमान सदस्य सचिब तेज बहादुर गुरुङले खेलकुदले नै विश्वमा भाइचाराको सम्वन्ध स्थापित गर्दै शान्तीको प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पाटियाला प्रशिक्षण केन्द्रमा आफ्नो व्याचका भारतिय मित्रहरु नेपाल भ्रमणले खेलकुदमार्फत सम्वन्धलाई अझै बलियो बनाउन समेत भूमिका खेल्ने बताए ।
सो अवसरमा बोल्दै भारतिय ह्याण्डबलका रिटायर्ड प्रमुख प्रशिक्षक भरिन्दर वर्माले यस प्रकारको कार्यक्रमले आफूलाई निकै उत्साहित बनाएको बताउँदै आफ्नो टोली पोखरा आएर ह्याण्डबल खेलको विकास संगै खेलकुदको विकासको प्रत्यक्षदर्शी हुन पाउनु गौरवको विषय रहेको बताए । उनले आफ्नो टोली गरेको सहयोग प्रति आभार समेत व्यक्त गरे ।
नेपाल आएको टोलीमा भारतिय ह्याण्डबलका रिटायर्ड प्रमुख प्रशिक्षक शम्सेर सिंह, बलवन्त सिंह, एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुरेश सैनी, राष्ट्रिय व्याडमिन्टन खेलाडी उपेन्द्र सिंह, करतार एग्रोका जेनेरल म्यानेजर निर्मल सिंह धलिवालसहित उनीहरुको परिवार समेत टोलीमा समावेश रहेका छन् । सो अवसरमा भारतिय टोलीले गण्डकी प्रदेश ह्याण्डबल संघलाई केही थान बल समेत प्रदान गरेको छ ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा यू–१८ र यू–२० पुरुष ह्याण्डबल टोलीका बीच प्रदर्शनी खेल समेत आयोजना गरिएको थियो । कार्यक्रमका कास्की ह्याण्डबलका निवर्तमान अध्यक्ष चित्र बहादुर थापा, रेफ्रि संयोजक गोपाल थापा, रेफ्रिहरु पदम नेपाली, पूर्व राष्ट्रिय खेलाडीहरुलगायतको सहभागिता रहेको थियो ।
पोखरा आएको टोली तीन दिन पोखराका विभिन्न स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
