नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा पोखरामा सुरु

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय वार्षिक साधारण सभा पोखरामा सुरु भएको छ । पोखराको पर्यटकिए स्थल लेकसाइडमा सुरु भएको साधारण सभाको एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री थापाले क्यानले पर्यटनको राजधानी पोखरामा आफ्नो कार्यक्रम गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले गण्डकी प्रदेशका दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढेको बताए । प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाउँदै मन्त्री थापाले नेपाली क्रिकेटले प्राप्त गरेको उचाईलाई कायम राख्न यूवा खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने जनाए ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले यूवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिनु्पर्ने कुरा औंल्याउँदै खेल संघहरुको समस्यामा गाँठो फुकाउने गरी राखेपले सहजिकरण गर्ने बताए । उनले भने–“राखेप प्रशासक वा नियमक बनेर दण्ड घुमाउँदैन । खेलकुद भनेको अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक बनाएर अघि बढ्नु पर्ने भएकोले पनि राखेप सहजिकरण गरेर अघि बढ्ने कुरामा विश्वास दिन चाहन्छ ।”

घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडीहरु उत्पादनमा समेत निर्भर रहेको बताउँदै सदस्य सचिव घिसिङले क्यानले सो अनुरुप व्यवस्थित बनाउँदै अघि बढ्नु पर्ने जनाए । उनले भने–“यस्ता खेलाडी उत्पादन गर्नुहोस जसले अहिले भनिएका स्टार खेलाडीहरुलाई समेत झस्काउन सकुन । उमेरसमूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ ,” उनले भने– “घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनु पर्छ । क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास छ ।”

नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै सदस्य–सचिव घिसिङले भने–“जिल्ला संघ विस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रुपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभुत रुपमा अगाडि बढाएका छौं ।” क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने बताउँदै सदस्य सचिव घिसिङले नेपाली क्रिकेटले विगतका वर्षमा महत्वपूर्ण फड्को मारेको र विश्वमा रहेका नेपालीहरुको मन जित्न सफल रहेको उनको भनाई थियो ।

नेपाली क्रिकेटले विश्वकपमा २–२ पटक र अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा नेपाली क्रिकेटले उचाई प्राप्त गरेको बताउँदै सदस्य सचिव घिसिङले राखेपले केही ठूला पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको बताए । उनले टियू क्रिकेट मैदानमा स्कोर वोर्ड निर्माणको विभिन्न चुनौतीका बावजुद निर्माण कार्य अन्तिम चरणमा पुगेको र गत आर्थिक वर्षबाट नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा तीन वटा पूर्वाधारहरु निर्माणको कार्य अघि सारेको जनाउँदै उनले ति निर्माण कार्यहरु समेत अब छिट्टै सुरुवात हुने जनाए ।

यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले आगामी २०२७ मा आयोजना हुने महिला विश्वकपको तयारीमा जुटिरहेको जनाउँदै त्यसका लागि काठमाण्डौ र पोखरालाई छानिए पनि पोखरामा पूर्वाधारको अवस्था कमजोर हुँदा पोखरामा भने सम्भावना कम रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारले यथासिघ्र योजना अघि सार्न आग्रह गरे ।

क्यानले गर्ने निर्णय र कार्यक्रमका विषयमा सामाजिक सञ्जालमा अनावश्यक रुपमा नलेख्न आग्रह गर्दै अध्यक्ष चन्दले त्यसले नेपाली क्रिकेट खेलको विकास प्रभावित हुने औंल्याउँदै संगै बसेर समाधान गर्नेतर्फ सबैको जोड् हुनुपर्ने बताए । नेपाली क्रिकेटले खेलाडीहरुलाई राष्ट्रिय र प्रदेश तहमा मासिक भत्ताको सुरुवात गरेको बताउँदै यसले नेपाली क्रिकेटको जगलाई तल्लोतहबाटै बलियो बनाउन सहयोग पुग्ने उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका पूर्व कार्यबहाक अध्यक्ष एवं पूर्व प्रदेश सभा सदस्य दिपक कोइराला, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, क्यानका सचिव पारस खड्काले आफ्ना भनाई राखेका थिए ।

पोखरामा दुई दिन सम्म सञ्चालन हुने साधारण सभामा वार्षिक लेखा परिक्षण अनुमोदन संगै सन २०२५ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट, नेपाल प्रिमियर लिगको सञ्चालन, एन्टी करप्सन कोड, कोड अफ कन्डक्टलगायतका विषयहरुलाई अनुमोदन गर्ने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close