
पोखरा स्पोर्टस । गण्डकी थण्डर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि बुधबार पोखरामा ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न ट्यालेन्ट हन्टबाट यूवा खेलाडी सोइङ्ग थापा गण्डकी थण्डर्सका लागि छनोट हुन सफल भएकी हुन् । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, गण्डकी थण्डर्सका निर्देशक विकास खेतान, परिषदकी सदस्य शुभकन्या गुरुङ, नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, नेपाल भलिबल संघका पूर्व सचिब डिवी नेपाली हितको उपस्थितीमा सोइङ्गलाई छनोट गरिएको हो ।

ट्यालेन्ट हन्टमा उपस्थित कुल २२ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा सोइङ्ग छनौटमा पर्न सफल भएको आयोजकले जनाएको छ ।
छनौट भए संगै यूवा खेलाडी सोइङ्गले अब गण्डकी थण्डर्सको टोलीमा समावेश हुँदै नेपालमा नै पहिलो पटक सञ्चालन हुने लागेको फ्रेन्चाइज महिला भलिबल लिग खेल्ने भएकी छिन् ।
१७ वर्षीया सोइङ्ग स्याङजा काली गण्डकी गाउँ पालिका घर भई हाल श्री भगवती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनी टिममा समावेश भए संगै गण्डकी थण्डर्सले आफ्नो टिम पूरा भएको र सम्पूर्ण ध्यान खेलतर्फ केन्द्रित गरिने टिमका निर्देशक खेतानले जनाए ।
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । गण्डकी थण्डर्समा मार्की प्लेयरको रुपमा सरस्वती चौधरी रहेकी छन् ।
यस अघि आयोजित कार्यक्रममा नेपालमा नै पहिलो पटक सञ्चालन हुने लागेको एभरेष्ट महिला भलिबल लिगले भलिबल खेल प्रति थप आकर्षण जगाउन सहयोग पुग्ने प्रदेश खेलकुद परिषदका सदस्य सचि शर्माले बताए । उनले भने–“यो महत्वपूर्ण अवसर हो । विदेशी र नेपाली खेलाडी सम्मिलित फ्रेन्चाइज टिममा नेपाली खेलाडीहरुले सिक्ने अवसर प्राप्त गर्नेछन् ।”
सो अवसरमा सदस्य सचिव शर्माले पोखरा रंगशालामा एभरेष्ट भलिबल लिगको उपाधि विजेताले प्राप्त गर्ने ट्रफी टुरको सुरुवात समेत गरे । उनले ट्यालेन्ट हन्टमा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।
यस्तै गण्डकी थण्डर्सका निर्देशक खेतानले गण्डकी थण्डर्स विदेशीसहितको आफ्नो टोलीले उपाधि जित्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको दावी गरे । उनले गण्डकीमा भलिबलको एकेडेमी सञ्चालन गर्ने समेत योजना अघि सारेको जनाउँदै आगामी दिनमा भलिबलको भूमीको रुपमा परिचित गण्डकीको यसले थप उचाई प्राप्त गर्ने उल्लेख गरे ।

