
पोखरा स्पोर्टस । सहाशिक खेलकुदको गन्तव्य गण्डकी प्रदेशको पर्यटकिए राजधानी पोखरामा पहिलो पटक सहाशिक एवं मनोरञ्जनात्मक इन्टरनेशनल बेलुन फेस्टिभल हुने भएको छ ।

उक्त फेष्टिभल नेपाल प्रालिको आयोजनामा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म हुने भएको हो । पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ । यसका लागि आवश्यक तयारी भइरहेको बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिएका छन् ।
नेपालमा नै पहिलो पटक आयोजना हुने उक्त फेष्टिभलमा ३० विभिन्न देशका व्यावसायिक कम्पनीले सहभागिता जनाउने भएका छन् । एक साता सम्म सञ्चालन हुने फेष्टिभलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडानमा तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको तथा करिब तीन सय वटा गैर व्यावसायिक उडान हुनेछन् ।
फेस्टिभल अन्तर्गत पोखरामा मिनि बलुन सो पनि हुनेछ । फेस्टिभल अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने संगै फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुनेछन् । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।
फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
फेष्टिभल बारे जानकारी दिंदै बेलुन नेपाल प्रालीका निर्देशक बिष्णु बहादुर ढकालले महोत्सवका मुख्य उद्देश्य पर्यटन पुनरुत्थान गनेृ जनाएका छन् । उनले भने, “महोत्सवमार्फत आर्थिक विकास, सांस्कृतिक आदानप्रदान, वातावरणीय सचेतनका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत हुने हामीले अपेक्षा गरेका छौँ ।”
महोत्सवले कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने लक्ष्य राखेको जनाउँदै निर्देशक ढकालले कार्यक्रमले पोखरामा रहेका होटल, रेस्टुरेन्टलगायतको व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने उनले जनाउँदै महोत्सवले नेपालका संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास लिए ।
सो अवसरमा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा केन्द्रित कार्यक्रमले पर्यटनको राजधानी पोखरालाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विसं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।
