
पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघले अवैधानिक रुपमा कार्य गरेको भन्दै कार्वाही गर्न माग गर्दै खेलाडीले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा उजुरी दर्ता गरेका छन् ।
नेपाल नं ५ बरियता राष्ट्रिय खेलाडी दिपक बोहोराले राखेपमा संघले खेलाडी विरुद्ध गरेका कृयाकलापको विरोध जनाउँदै उजुरी दर्ता गरेका हुन् । उनले आफ्नो उजुरीमा संघका पदाधिकारीहरुले मनोमानी रुपमा खेलाडीहरुलाइ छनौट नगरी अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागितामा पठाउने र खेलाडी भन्दा पनि पदाधिकारीको नाममा धेरै जनालाई विदेश शयर गराउने गरेको आरोप समेत लगाएका छन् ।
उनले भनेका छन्–“संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को उपदफा ‘क’ देखि ‘ड’ सम्म संघले पालना गर्नुपर्ने तर संघले ऐनको पालना नगरी अवैधानिक तरिकाले खेलाडी र खेल संघका पदाधिकारीहरुलाई राम्रा राष्ट्रहरुको भिषा लगाउने तथा खेलाडीको हितमा भन्दा पनि पदाधिकारीहरुको लागि भिषामा बढि ध्यान केन्द्रित गरेकोले त्यस्ता अवैधानिक कृयाकलाप बन्द गरी संघलाई कार्वाही गर्नुहुन अनुरोध गर्दछु ।”
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा समेत प्रमुख प्रशिक्षक र खेलाडीहरुलाई समेत कुनै पनि जानकारी नदिएको आरोप लगाएका छन् । उक्त पत्र बोहोराले हिजो आइतबार राखेपमा दर्ता गराएका छन् । परिषदका सदस्य सचिबलाई सम्वोधन गरिएको पत्रमा आफू खुसि संघले गरेको मनोमानीका कारण आफू जस्तै खेलाडीहरुलाई मर्का परेको जनाएका छन् ।

