
पोखरा स्पोर्टस । पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि प्रतियोगिता सुरु भएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएका छन्। खेलको विकास तथा विस्तार गर्ने, विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागितामा छात्रा तथा छात्र गरि २ विधामा ९ क्याटागोरीमा स्पर्धा हुदैछ ।
प्रतियोगितामा कक्षा १–५ सम्मका छात्र–छात्रा सिङ्गल्स, कक्षा ६– ८ सम्मका छात्र–छात्रा सिङ्गल्स, कक्षा ९–१० सम्मका छात्र–छात्रा सिङ्गल्स, कक्षा ११–१२ का छात्र–छात्रा सिङ्गल्स तथा कक्षा ११–१२ का छात्र डबल्स गरि ९ वटा क्याटोगोरीमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतिायोगिताको उद्घाटन गरे । विद्यालयस्तरिय प्रतियोगिताले विद्यार्थीहरुको बिचमा भाइचाराको विकास हुनुका साथै स्तरीय खेलाडी उत्पादनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । विद्यालयस्तरबाट सञ्चालन हुने प्रतियोगिताले नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलो भएको बताउँदै उनले खेल क्षेत्रको विकास र विस्तारमा इन्द्रबहादुर गुरुङको योगदानको स्मरण गर्दै प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालनका लागि आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त
हुने बताए ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेलाई ट्रफि,मेडल, प्रमाणपत्र र प्रोत्सहान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार प्रिक्वाटर सम्मका खेलहरु सम्पन्न हुने छन् ।
उद्धघाटन सत्रमा स्व.इन्द्र बहादुर गुरुङका श्रीमति जगदेश्वरी, छोरी कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
