पोखरा–२२ पुम्दी भुम्दीमा प्रथम पर्वतीय दौड हुँदै

पोखरा स्पोर्टस । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।

पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लिको आयोजनामा असोज १२ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् ।

‘खेलपर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो । दौडको रुट विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्धपार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने छ ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले पोखराको समग्र पर्यटनमा प्रतियोगिताले सहयोग गर्ने भएकाले आफ्नै कार्यक्रम भएको बताए ।

विश्व शान्ति स्तुप समिति अध्यक्ष उत्तममान बुद्धाचार्यले करिब ५० वर्षअघि खुलेको विश्व शान्ति स्तुप प्रचार अभावमा छायामा परेको गुनासो गरे । उनले यसबाट थप प्रचार हुने अपेक्षा गरे । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अर्जुन पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बुद्धाचार्यले प्यानलतर्फबाट २० हजार रुपैयाँ हस्तान्तरण गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य केशव पाठकले यो प्रतियोगिता नमुना हुने विश्वास लिए । नेपाल पत्रकार महासंघ गण्डकी सचिव यदुनाथ बञ्जाराले राम्रो अभ्यासको मिडियाले पनि सक्दो प्रचार गर्नुपर्ने बताए ।

आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।

प्रतियोगितामा हालसम्म पोखरा वडा २२ कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानल, सहारा क्लब पोखरा, अटोवेज प्रालि, ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, अन्तराष्ट्रिय पर्वतीय संग्राहलय, खेलकुदकर्मी विश्व तण्डुकार लगायतले सहयोग गरेका छन् ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close