राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले आफ्नो ६१औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । दुवैलाई समान ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गर्यो ।

पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्द्धनले प्राप्त गरिन् । पलेशालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।

सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरेको थियो । अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान ग-यो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मानित भएका हुन् ।

करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार नगदसहित सम्मानित भए । उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा.लिलाई कदर पत्रसहित सम्मान गरेको छ ।

सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललगायतले सम्मान गरेक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close