
पोखरा स्पोर्टस । आइसिसी यू–१९ मलिा वर्ल्ड कप एसिया क्वालिफायर अन्तर्गत नेपाली खेलाडीहरुको छनौट प्रक्रिया सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो चरणको छनौटका लागि २९ खेलाडीहरुको नामावली सार्वजनिक गरेको हो । जस अन्तर्गत गण्डकी प्रदेशका ६ जना खेलाडीहरु पहिलो चरणको छनौटमा पर्न सफल भएका छन् । क्यानका अनुसार बन्द प्रशिक्षणमा यहि भदौ ३० गते देखि असौज १४ गते सम्म दाङमा सञ्चालन हुने छ ।
चितवनमा सम्पन्न यू–१९ मैयादेवी कप र कोहलपुर सम्पन्न मेयर कप अन्तर्गत खेलाडीहरुको प्रदर्शनका आधारमा छनौट गरिएको क्यानले जनाएको छ । मैयाँदेवी कपमा गण्डकी उपविजेता रहेको थियो ।
गण्डकीबाट को को परे ?
क्यानले जारी गरेको २९ खेलाडीहरुको नामाबलीमा गण्डकीका ६ जना खेलाडीहरु छनौटमा पर्न सफल भएका छन् । छनौटमा पर्न सफल खेलाडीहरुमा कुशुम गोदार, सिमाना केसी, ज्योत्सिनिका मरासिनी, निरु जिटी, सेरिना थापा र रचना चौधरी रहेका छन् ।
छनौटमा परको ६ खेलाडी मध्ये रचना कास्कीकी हुन् भने अरु सबै खेलाडी स्याङजाका हुन् । छनौटमा परेकी कुशुम गण्डकी प्रदेश टिमकी कप्तान समेत हुन् । छनौटमा परेकी सेरिना विकेट किपर हुन् भने अन्य खेलाडीहरु अलराउण्डर हुन् ।
गण्डकीका ६ जना खेलाडीहरु पहिलो चरणको छनौटमा पर्न सफल भए संगै गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खुसी व्यक्त गर्दै आफूहरुले सोचे अनुरुप खेलाडीहरुले छनौट चरणमा खेल्ने जनाए । “विश्व कप खेल्नका लागि यो महत्वपूर्ण अवसर हो । गण्डकीका खेलाडीहरुले त्यो अवसर गुमाउने छैनन । हाम्रो शुभेच्छा उनीहरुको उत्कृष्ट प्रदर्शनका लागि संधै रहने छ”–उनले भने ।
यू–१९ महिला वर्ल्ड कप नेपाल र बंगलादेशमा सन २०२७ मा हुने छ । उक्त प्रतियोगिता मध्येको एक खेल पोखरामा सञ्चालनका लागि गण्डकी प्रदेश क्रिकेट संघले दावी गर्दै अभियान नै चलाएको छ । यद्यपी कति खेल कहाँ र कसरी हुने बारे भने अझै तय भइसकेको भने छैन ।
तस्विरः फायल फोटो मैयाँदेवी कप
