
पोखरा स्पोर्टस । लामाचौर कप पुरुष भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जतेको छ । पोखरामा शनिबार सम्पन्न फाइनलमा अर्को विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।


लाइट प्रोटेस्टका कारण शुक्रबार रोकिएको दोस्रो दिन खेलाइएको फाइनलमा साविक उपविजेता समेत रहेको पुलिसले २५–१६ ले जिते पनि एपिएफ खेलमा फर्किदैं दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर खेलमा लगतै पुलिसले तेस्रो सेट २५–१९ ले जित्दा चौथो सेट २५–२२ ले एपिएफले जित्दै पुलिस माथी २–२ को बराबरी गरे पनि अन्तिम सेट १६–१४ ले जित्दै पुलिसले उपाधि जित्यो ।
नेपाल पुलिसले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख एक सय ११ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित भए । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे ।
भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल गर्न सफल रह्यो । तर, तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको महिला–पुरुष दुवै तर्फ चार–चार टिमको सहभागिता रहेको थियो ।
