
पोखरा स्पोर्टस । पोखरामा जारी लामाचौर कप अन्तर्गतको पुरुष भलिबलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ र विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लब बिचको खेल प्रभावित बनेको छ ।
खेलको दोस्रो सेट सकिए संगै सुरु भएको भारी वर्षा र प्रकाशका कारण खेल बिचमा नै रोकिएको हो । पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब संग पराजित भएको गण्डकी जित्नै पर्ने दबावका साथ मैदानमा उत्रिएको थियो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट भने १९–२५ ले एपिएफलाई सुम्पिएको थियो ।
दोस्रो सेटको खेल सकिए लगतै भएको वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ । स्थगित गरिएको खेल भोली (बिहिबार) पुनः सञ्चालन हुनेछ ।
यता विभागिय टोली नेपाल पुलिस क्लबले दोस्रो दिनको खेलमा समेत सहज जित निकाल्दै पुरुषतर्फ ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । गण्डकीलाई जित्दै उत्साहित रहेको पुलिसले गल्कोटलाई ३–० को सोझो सेटमा जित्दै सहजै २ अंक आफ्नो पक्षमा पार्न सफल भएको छ ।
सम्पन्न खेलमा पुलिसले २५–१२, २५–१७ र २५–२३ ले खेल जितेको हो ।
गत वर्ष सम्पन्न प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी पुरुषतर्फ गण्डकीले उपाधि हात पारेको थियो ।
भलिबल प्रतियोगितातर्फ महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार टिमले मात्रै सहभागिता जनाए पछि खेल राउन्ड रोविनको आधारमा सञ्चालन गरिएको छ ।
तस्बिरः योगेन्द्र श्रेष्ठ
