लामाचौर कप भलिबल उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने, आर्मी नखेल्ने

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा आयोजना हुने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र शसस्त्र प्रहरीको एपिएफ क्लव आमने सामनो हुने भएका छन् ।

नव आदर्श विकास समाजको आयोजना सञ्चालन हुने उक्त प्रतियोगितामा खेल्ने टिमको टुङ्गो लागे संगै तयारी समेत् अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सञ्चालन हुने महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करणमा ४–४ टिम भिड्ने टेक्निकल डेलिगेट एवं अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह थापाले पोखरा स्पोर्टलाई जानकारी दिए । प्रतियोगितामा दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबको मात्रै सहभागिता हुने भएको छ । नेपाल आर्मीले अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै बाहिरिएको थापाले बताए ।

राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लव बुटवल, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता हुने छ ।

त्यसै गरी पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, मणीमुकुन्द क्लब बुटवल र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन् ।

यस अघि महिलातर्फ गण्डकीको महिला टिम सहभागि नहुने बताए पनि यू–१९ टोली समेत समेटेर टिम तयार गरिएको गण्डकी प्रदेश भलिबल संघका महासचिब समेत रहेका थापाले बताए । उनले भने–“हामी गण्डकीको महिला टिम सन्तुलित बनाउने प्रयासमा छौं । आर्मी नखेल्ने भए पछि केही खेलाडीहरुलाई गण्डकीको टिममा समावेश गर्ने की भन्ने बारे समेत छलफल चलेको छ । यदि त्यो भएन भने पनि हामी यूवा खेलाडीहरुलाई मौका दिने छौं ।” नेपाली राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीलाई भने सम्मान दिनका लागि पनि नखेलाउने उनले बताए ।

महोत्सवको पहिलो दिन भदौ १८ गते देखि महिला र पुरुषतर्फको प्रतिस्पर्धा सुरु हुनेछ । २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुने गरी तयारी गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लिग चरणका खेलहरु एक दिन अगावै सुरु हुने भए पनि उद्घाटन खेल भने १९ गते हुनेछ । 

गत वर्ष सम्पन्न प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी पुरुषतर्फ गण्डकीले उपाधि हात पारेको थियो । प्रतियोगिता आयोजनास्थल ब्यवस्थित बनाउन ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

भलिबल प्रतियोगितातर्फ महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
तस्विरः योगेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close