
पोखरा स्पोर्टस । नेपालको एक प्रतिष्ठित म्याराथन प्रतियोगिता मध्येको एक ‘धारा नेपालगञ्ज म्याराथन’ दशक उत्सवको तयारीमा जुटेको छ ।
निरन्तरताको दशौं बर्षगाँठ मनाउने क्रममा धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार आयोजना हुने भएको हो । कर्णाली प्रदेशमा आयोजना हुने बृहत राष्ट्रिय खेलकुदको मिति तय भए संगै काउन्ट डाउन सुरु गरिसकेकोले नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।
एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २२ गते शनिवार हुनेछ ।
दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।
म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिने छ । साथै केही दौडसम्बन्धि प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत सञ्चालन गरिनेछ । एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिने तयारी छ । यसका बारेमा चाँडै कार्यक्रम सार्वजनिक गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।
यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई बर्षमा आयोजना हुने एम्सको २३ औं बार्षिक साधारणसभामा नेपालबाट पहिलोपटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको थियो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा आयोजकले गरेको छ ।
एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी, आठौंमा सेनाकै खडकबहादुर खड्का र नवौंमा एपीएफका गोपीचन्द्र पार्की विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।
त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र तीन संस्करण जित्ने सन्तोषी श्रेष्ठ हुन् । पुरुषतर्फ दुई पटक म्याराथनतर्फ विजेता हुने एपीएफका गोपीचन्द्र पार्की मात्र हुन् । नवौं धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्कीले विश्वप्रतिष्ठित लण्डन म्याराथन तथा सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउन सफल भएका छन् ।

