पेरिस ओलम्पिक : जुडोमा मनीता पराजित

पोखरा स्पोर्टस । नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक– २०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् ।

इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०–० अंकले पन्छाइन् ।

दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनीताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् । कलिलै उमेरमा बन्दी सहायता नियोग (पाम) मा हुर्केकी मनीताले पामबाटै जुडो करियर सुरु गरेकी थिइन् ।

मनीताका सुरुआती प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् जसले टोकियो ओलम्पिकमा सोनिया भट्टको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । मनीताले इन्डोनेसियाको जकार्ता÷पालेम्वाङ तथा चीनको हाङझावमा भएको क्रमशः १८ औं र १९ औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।

ओलम्पिक छात्रवृत्ति प्राप्त मनीताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु’ गरेकी मनीता सोमबार औपचारिक रुपमा ओलम्पियन बनिन् । त्रियोग जुडोमा मनीताले स्वर्ण जितेकी थिइन् । ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनीता समग्रमा ओलम्पिक खेल्ने छैटो नेपाली जुडो खेलाडी हुन् ।

मनीताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपु ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए । पेरिस ओलम्पिकमा देबु मनीताको प्रशिक्षकको भूमिकामा छिन् ।

ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा मनीताले श्यान्टुसंग मिलेर राष्ट्रिय झण्डा बोकेकी थिइन् । ओलम्पिकको जुडोमा नेपालले हासिल गरेको ठूलो उपलब्धी भनेको फुपुले पूरा ४ मिनेट समय ‘म्याट’ मा बिताउनु हो ।

सन् २०२३ को युरोपियन जुडो च्याम्पियनसिपकी रजत विजेता २५ वर्षीया मरिकासंग टोकियो ओलम्पिक, विभिन्न ४ आईजेएफ विश्व जुडो च्याम्पियनसिप, विभिन्न १३ वल्र्ड टुरलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । मरिकाकी आमा रदमिला पनि जुडो खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा मनीतासंगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ ।

यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल बाहिरिसकेका छन् । सोमबारै नेपालका प्रिन्स दाहालले समूह चरणको आफ्नो दोश्रो खेलमा स्थानिय समय अनुसार राती ९ः१० बजे आयरल्यान्डका हात गुयेनसंग प्रतिस्पर्धा गर्ने छन् । मंगलबार हुने नेपालको एक मात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close