
पोखरा स्पोर्टस । मित्रराष्ट्र भारतको जयपुरमा जारी ‘सेन्ट्रल एसिया जोन–२’ अन्तर्गत पुरुष उमेर समुह (यू–१८) जुनियर आई.एच.एफ ट्रफी २०२४ मा नेपालले सफलता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा शनिबार अवेर गरी सम्पन्न भएको तेस्रो स्थानको खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको हो । जुनियर यू–१८ तर्फका हेड कोच विशाल बस्नेतले पोखरा स्पोर्टसलाई दिएको जानकारी अनुसार नेपालले मालदिभ्सलाई ३१–२९ ले पराजित गरेको हो ।
तेस्रो स्थानको लागी भएको सनसनीपूर्ण खेल आफ्नो पक्षमा पार्न सफल रहेका नेपाली टिमका गोल किपर केभिन गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए । केभिन टिमका कप्तान समेत हुन् ।
जुनियर (पुरुष यू–१८) तर्फ नेपाली टोलीमा शनिस गुरुङ–कास्की, रोशन विक–पर्वत, विवेक थापा–कास्की, ऋतिक परियार–कास्की, प्रशोन विक – कास्की, केभिन गुरुङ (कप्तान)– कास्की, निशान पुन –कास्की, सुन्दर फगामी– म्याग्दी, निरज गुरुङ – कास्की, शुसान्त देव – कास्की, हविन छन्त्याल – म्याग्दी, मनोज थारु (लुम्बिनी), रिजन श्रेष्ठ (कोशी), चन्द्र बहादुर थापा (लुम्बिनी) रहेका छन् ।
नेपाली दुई ह्याण्डबल टोली यति भारतको जयपुरमा संचालन भइरहेको ‘सेन्ट्रल एसिया जोन–२’ अन्तर्गतको प्रतियोगितामा सहभागिता जनाएको छ । टोलीमा चार जना प्रशिक्षकसहित नेपाली टोलीको नेतृत्व नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङले गरेका छन् । टिमको प्रशिक्षकहरुमा कृष्ण शाक्य, बिन्दा थापा, विशाल बस्नेत र दिनेश श्रेष्ठ रहेका छन् ।
