गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, कुन खेलका खेलाडीहरुले पाउँदैछन् पुरस्कार ?

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता गत चैत्र २५ देखि २०८१ बैशाख १ गते सम्म चितवन र हेटौडामा आयोजना भएको थियो भने १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड केन्द्रियस्तरको प्रतियोगिता गत बैशाख ४ देखि ६ गते सम्म काठमाण्डौ र यू–१५ विद्यालयस्तरीय प्रतियोगिता गत जेठ ३० र ३१ गते पोखरामा सम्पन्न भएको थियो ।

तीन खेलमा गण्डकीको कति पदक ?
सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले जानकारी दिए । पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना रहेका छन् । तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ ।

कुन जिल्लाका कति खेलाडी पुरस्कृत हुँदै ?
बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका कुल ५५ जना खेलाडी पुरस्कृत हुनेछन् । त्यसै गरी तनहुँ र नवलपुरका समान २२–२२ जना खेलाडी पुरस्कृत हुने छन् भने बाग्लुङ र स्याङजाका १८–१८ जना, म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।

यहि असार २९ गते पोखरामा आयोजना हुने एक कार्यक्रमका बीच खेलाडीहरुलाई सम्मान गर्न लागिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए । पोखरा रंगशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको सदस्य सचिब शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close